+
+

‘कबड्डी-४’ले महामारीयताकै उच्च ओपनिङ गर्ने संकेत, ‘केजीएफ-२’भन्दा धेरै शो

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १० गते ११:२६

काठमाडौं । ‘कबड्डी’ फिल्मको चौंथो श्रृंखलाले नेपाली बक्स अफिसमा कोरोना महामारीयताकै उच्च ओपनिङ गर्ने संकेत दिएको छ ।

सिनेमा हलमा प्राप्त शो र अग्रिम टिकट बिक्रीको ट्रेण्ड हेर्दा दयाहाङ राई स्टारर फिल्मको पहिलो सप्ताहन्त ओपनिङ अनुमानित चार करोड रुपैयाँ हुने प्रक्षेपण छ । आइतबारसम्मै सप्ताहन्त भएकाले कमाइ आक्रामक हुने अपेक्षा छ ।

मुख्य मल्टिप्लेक्स चेन क्यूएफएक्सले सोमबार बेलुकादेखि अग्रिम टिकट बिक्री खुला गर्दै रामबाबु गुरुङ निर्देशित फिल्मलाई ८७ शो दिएको छ ।

प्रदर्शन इतिहासमा कुनै फिल्मले पाएको यो अहिलेसम्मकै उच्च शो हो । दक्षिण भारतीय फिल्म ‘केजीएफ-२’ले ८० शो पाएको थियो । आईएनआई, वान सिनेमाज्, रञ्जना, एफक्यूब, गोपीकृष्णमा समेत फिल्मले उच्च शो पाएको छ ।

क्यूएफएक्सले शुक्रबार र शनिबारको लागि प्रदर्शन तालिका प्रकाशित गरेको छ, जसमध्ये मंगलबार बिहान १० बजेसम्म ८० प्रतिशत अकुपेन्सी देखिएको छ ।

क्यूएफएक्स बक्स अफिस विभाग प्रमुख मीना कार्कीले ट्रेण्ड हेर्दा मंगलबार बेलुकासम्म शुक्रबारका सबै शोको टिकट अग्रिम बिक्री हुनसक्ने बताइन् । ‘अहिलेलाई टिकट बिक्री मात्र गरेका छौं । आइतबारदेखि कस्तो ट्रेण्ड लिन्छ, सोहीअनुसार बुकिङतिर पनि जान सकिन्छ,’ उनले भनिन् ।

कमलपोखरीस्थित बिग मुभिजका व्यवस्थापक दीपेश शर्माले नेपाली फिल्मले पहिलोपटक आफ्नो हलमा यस्तो अग्रिम टिकट बिक्री गरेको देखेको बताए ।

‘मंगलबारदेखि नै सुरु भएको यो ट्रण्न्ड हेर्दा चलेका विदेशी फिल्मभन्दा माथि नै जान सक्छ,’ शर्माले भने, ‘पछिल्लो समय बुकिङभन्दा अग्रिम टिकट बिक्रीको ट्रेण्ड नै देखिएको छ ।’

बिग मुभिजले अग्रिम बुकिङ र अग्रिम टिकट बिक्री गरिरहेको छ, तर बुकिङभन्दा बिक्रीकै चाप उच्च रहेको व्यवस्थापक शर्माले बताए । मुलुकका डेढ सय हलबाट रिलिजको तयारीमा रहेको ‘कबड्डी ४’ले अघिल्ला तीन श्रृंखलाभन्दा उच्च ओपनिङ गर्ने आशा निर्माता मणिराम पोखरेलले व्यक्त गरे ।

काठमाडौं उपत्यकाबाटै डेढ करोड रुपैयाँको ओपनिङ हुनसक्ने उनको अपेक्षा छ ।

नेपाल रिलिजको एक सातापछि यो फिल्म भारतका नेपालीभाषी बहुल क्षेत्रका हलमा प्रदर्शन गर्ने तयारी छ । कलाकारद्वय विजय बराल र बुद्धि तामाङले भारत रिलिजबारे मंगलबार पश्चिम बंगालको सिलगुडीमा पत्रकार सम्मेलन गर्दैछन् ।

भारत र नेपालबाहेकका विदेशी मुलुकबाट ‘कबड्डी ४’ले २ करोड रुपैयाँ नेट कलेक्सन गरिसकेको छ भने डिजिटल राइटबाट झण्डै एक करोड आर्जन गरेको छ । डिजिटल र ओभरसिज राइटबाटै फिल्मले लगानी उठाइसकेको छ ।

दयाहाङ राई, सौगात मल्ल र मिरुना मगरको मुख्य भूमिका रहेको यो फिल्मको नाम ‘कबड्डी : द फाइनल म्याच’ राखिएको छ । सोमबार चलचित्र जाँच समितिले फिल्मलाई यू प्रमाणपत्र दिएको छ भने यसको लम्बाइ २ घण्टा १७ मिनेट छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?