
काठमाडौं । फिल्मसँगै पछिल्लो समय सहरका नाटकघरमा पनि दर्शकको चहलपहल बढ्न थालेको छ । ‘पल्पसा क्याफे’को व्यावसायिक सफलतापछि अन्य नाटकले पनि मञ्चनलाई तीव्रता दिएका छन् ।
आरोहण गुरुकुलमा अहिले विजय मल्ल गोठालेद्वारा लिखित चर्चित उपन्यास ‘कोही किन बर्बाद होस्’मा आधारित नाटक मञ्चन भइरहेको छ । चे शंकरको परिकल्पना र निर्देशन रहेको नाटक जेठ २१ गतेसम्म मञ्चन हुने गुरुकुलले जनाएको छ ।
सात वर्षअघि मञ्चन हुँदा निकै चर्चा कमाएको यो नाटकलाई पुनः मञ्चन गरिएको हो । कलाकारमा केही हेरफेर गर्दै निर्देशक शंकरले नाटकलाई पुनः दर्शकमाझ ल्याएका हुन् ।
अहिले शनिबार दुई शो र सोमबारबाहेकका दिनमा दैनिक एक शोको दरले नाटक मञ्चन भइरहेको उनले जानकारी दिए । निर्देशक शंकरले नाटकमा देखिएको दर्शकको उपस्थितिले आफूलाई खुसी मिलेको बताए ।
२०१५ सालतिर विजय मल्लले लेखेको यो नाटकले बालबालिकामा प्रेम र मातृत्वले पार्ने प्रभाव र अभिभावकको दायित्व सम्झाउँछ । तिनिपासिंह पहाडी, सुशान्त घिमिरे, सुवास तिमिल्सिना, सबीर चुरौटे लगायत १२ जना कलाकारले यसमा अभिनय गरेका छन् ।
विद्यालयमा पढाउने शैली सिर्जनात्मक हुनुपर्छ भन्ने अभिप्रायले नाटकलाई पुनः मञ्चन गरिएको निर्देशक शंकरले बताए । ‘म शिक्षासँग सम्बन्धित मान्छे पनि हुँ । हाम्रो शिक्षा प्रणाली कहाँदेखि कहाँ पुगेको छ, तर बच्चालाई पढाउने शैली ठीक छैन । सिर्जनात्मक हुनुपर्छ भनेर लागेर नाटकलाई पुनः ल्याएका हौं,’ उनले भने ।
यसैमहिना गुरुकुलमा शंकर निर्देशित अर्को नाटक ‘उलार’पनि मञ्चन भएको थियो । अहिले मण्डला नाटकघरमा वान वल्र्ड थिएटरको नाटक ‘द राइड एक्रोस लेक कन्सटेन्स’ मञ्चन भइरहेको छ ।
डेबोरा मेरोला निर्देशित यो नाटकले पितृसत्ता, स्वामित्व र दासता तथा संसारको अर्थ खोज्नुपर्ने मानवजातिको आवश्यकता विषयमा कथा पेश गर्छ । स्थानीय तह निर्वाचनका कारण रोकिएका नाटक अहिले मञ्चन हुन थालेका छन् ।
प्रतिक्रिया 4