
१० जेठ, प्युठान । सरुमारानी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष झगबहादुर विश्वकर्माले आफ्नो कार्यकालको पहिलो निर्णय नै डोजर, एम्बुलेन्स र स्कुल बस किन्ने गरेका छन् ।
गाउँपालिकाका मंगलबार पदभार ग्रहण गर्दै उनले गाउँपालिका क्षेत्रमा सडक निर्माण, विस्तार, स्तरवृद्धि र अन्य पूर्वाधारको कामका लागि भन्दै डोजर र लोडर खरिद गर्ने निर्णय गरेका हुन ।
उनले सरुमारानी ४ को जनता माध्यामिक विद्यालयलाई स्कुल बस र ६ का लागि एम्बुलेन्स खरिद गर्ने निर्णय गरेका छन् ।
पालिका भित्रका २० युनिटम्मको विद्युत महसुल पालिकाले तिरिदिने, लिफ्ट तथा सिंचाइ योजना सञ्चालन गर्दा खपत हुने महसुलमा ५० प्रतिशत रकम गाउँपालिकाले भुक्तानी गरिदिने निर्णय पनि विश्वकर्माले गरेका छन् ।
गौमुखी गाउँपालिकाले पनि सबै घरधुरीमा केन्द्रिय विद्युत प्रशारण लाइन लैजाने र मासिक २० युनिटसम्म विद्युत् उपभोग गर्ने उपभोक्ताहरुको महसुल पालिकाले भुक्तान गर्ने निर्णय गरेको छ ।
नौबहिनीले पनि २० युनिटसम्मको विद्युत महसुल पालिकाले नै भुक्तानी गरिदिने भएको छ ।
माण्डवी गाउँपालिकाले भने गएको आर्थिक वर्षदेखि नै यस कार्यक्रमलाई कार्यान्वयन गर्दै आएको छ । संघीय सरकारले यसअघि नै गरिब तथा विपन्न परिवारका लागि २० युनिट विजुली निशुल्क दिने निर्णय गरिसकेको छ ।
प्रतिक्रिया 4