
१० जेठ,काठमाडौं । सरकारले प्राङ्गरिक मलमा अनुदान दिने भएको छ । २२ हजार हेक्टरभन्दा बढी कृषियोग्य जमिनमा सिंचाइ सुविधा विस्तार र सिंचाइका लागि विद्युत् महशुलमा पनि छुट दिने भएको छ ।
मंगलबार संसदको संयुक्त सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको समीक्षा गर्नेदेखि प्राङ्गरिक मलमा अनुदान दिने लगायतको कार्यक्रम अघि सारिएको जानकारी दिएकी हुन् ।
कृषिलाई आर्थिक वृद्धि र रोजगारीको केन्द्र बनाइने र नयाँ कृषि नीति तर्जुमा गरिने कार्यक्रम अघि सारिएको छ । कृषि आधुनिकीकरणका लागि योजना ल्याइने, कृषि र वनको उत्पादकत्वलाई ध्यान दिएर सबै मन्त्रालयको नीति ल्याइने नीति तथा कार्यक्रममा उल्लेख छ ।
यस्तै बाँझो जमिन प्रयोग गर्ने, सामूहिक खेती प्रोत्साहन, धान, स्याउ ओखरको खेती प्रोत्साहन, रबर खेती बढाउने जस्ता कार्यक्रमलाई प्राथमिकता दिइने उल्लेख छ ।
रासयनिक मल सुनिश्चित गर्ने, कृषकको संरक्षण गर्ने, कृषकको उत्पादन खरिद गरिने जस्ता कार्यक्रम पनि सरकारले अघि सारेको छ । कृषि बीमा विस्तार गरिने, उखु प्रवर्द्धन खर्च बेलैमा भुक्तानी, कृषि बाली क्षतिको राहत हस्तान्तरण र अन्तर्राष्ट्रिय विमानस्थल र भन्सार नाका नजिक शीत भण्डार र कृषि मार्ट निर्माण गरिने सरकारले जनाएको छ ।
यस्तै थप योग्य २२ हजार हेक्टर कृषि योग्य जमिनमा सिंचाइ सुविधा पुर्याउन ठूला नहरको सञ्चालन, हिमालमा लिफ्ट सिंचाइ र तराईमा थप सिंचाइको व्यवस्था गरिने कार्यक्रममा घोषणा गरिएको छ ।
प्रतिक्रिया 4