
१० जेठ, सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिकाका नवनिर्वाचित मेयर ललन प्रसाद गुप्ताले नगरपालिकाभित्रका सबै महिलालाई निःशुल्क रुपमा महिनाबारी प्याड उपलब्ध गराउने घोषणा गरेका छन् ।
मंगलबार आफ्नो पदभार ग्रहण गर्दै मेयर गुप्ताले उक्त घोषणा गरेका हुन् । महिनाबारी प्याडको उद्योग स्थापना गरी नगरपालिकाभित्रका सबै महिलालाई निःशुल्क प्याड उपलब्ध गराउने उनले बताए ।
नगरपालिकाभित्रका उत्कृष्ट १२ जना विद्यार्थीलाई प्राविधिक शिक्षा अध्ययन गर्नका लागि विशेष छात्रवृत्ति प्रदान गर्ने उनले प्रतिवद्धता जनाए ।
उनले उत्कृष्टमध्येका ३ जनालाई हेल्थ असिस्टेन्ट, ३ जनालाई इन्जिनियरिङ डिप्लोमा, ३ जनालाई स्टाफ नर्स र ३ जनालाई ल्याब टेक्निसियन अध्ययन गर्न विशेष छात्रवृत्ति प्रदान गर्ने बताए ।
विद्यालयमा प्राविधिक शिक्षा र अंग्रेजी माध्यमबाट पढाइ सञ्चालन गर्नुका साथै विद्यालयहरुलाई प्रविधिमैत्री बनाउँदै, शिक्षकहरुलाई तालिमको व्यवस्था गरी शैक्षिक गुणस्तरमा सुधार गर्ने उनले बताएका छन् ।
विपन्न दलित वर्गका कृषकलाई शत प्रतिशत अनुदानमा कृषि मिटर जडान गरिने, किसानलाई धान, गहुँ, मकै, तरकारी लगायतका कृषि उत्पादनमा वृद्धि गरी आत्मनिर्भर अनुदान, प्रोत्साहनसहितको कार्यक्रम ल्याउने उनको प्रतिवद्धता छ ।
अहिलेसम्म दर्ता तथा नवीकरण नभएका घ वर्गबाहेकका व्यवसायीलाई यो आबको असार मसान्तसम्म दर्ता तथा नवीकरण गराउन आएमा सम्पूर्ण रकम मिनाहा गरिने समेत उनले घोषणा गरेका छन् ।
गर्भवती महिलाका लागि शल्यक्रियासहितको सेवा सञ्चाचालन गरिने, गरीब, दलित तथा विपन्न परिवारको स्वास्थ्य बीमा निःशुल्क गरिदिने तथा प्रत्येक चोकमा सिसिटिभी जडान गर्दै वाइफाइ फ्री गरिदिने समेत उनले घोषणा गरेका छन् ।
निवर्तमानको विदाइ
नवनिर्वाचित जनप्रतिनिधिले पदस्थापन गर्दा यहाँका निवर्तमान जनप्रतिनिधिको विदाइ गरिएको छ । निवर्तमान मेयर बसन्त मिश्र, उप मेयर निरु पोखरेललाई बर्तमान मेयर ललन गुप्ताले कदर पत्रसहित विदाइ गरेका छन् ।
प्रतिक्रिया 4