+

क्रिकेट संघ र ईपीएलको जुहारी !

२०७९ जेठ  १० गते २०:५६ २०७९ जेठ १० गते २०:५६
क्रिकेट संघ र ईपीएलको जुहारी !

१० जेठ, काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) आयोजना गर्न नदिए नेपाल क्रिकेट संघका कार्यक्रम बहिस्कार गर्ने ‘धम्की’को क्यानले प्रतिवाद गरेको छ ।

क्यानले मंगलबार विज्ञप्ति जारी गर्दै ईपीएल आयोजक र फ्रेन्चाइज टिमको अभिव्यक्ति गैर जिम्मेवार तथा भ्रामक भएको भन्दै खेद प्रकट गरेको छ । ईपीएल आयोजक भने आफ्नो धारणामा अझै अडिग छ ।

के हो विवाद ?

जोहोरा स्पोट्र्स म्यानेजमेन्टले पछिल्ला वर्षहरुमा एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेछ आयोजना गर्दै आएको छ ।

निलम्बन फुकुवापछि नेपाल क्रिकेट संघ क्यानले आधिकारिक फ्रेन्चाइज लिग नेपाल टी–२० गर्न भन्दै भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्ससँग सम्झौता ग¥यो । तर विवादका कारण हुन सकेन ।

पछिल्लो पटक भने नयाँ सम्झौता भयो । यससँगै क्यान र ईपीएलको विवाद सुरु भएको देखिन्छ । ईपीएलको पाँचौ संस्करण आगामी कात्तिकमा गर्ने घोषणा भएको थियो । क्यानले नेपाल टी–२० लिग असोजमा गर्ने घोषणा गर्नुका साथै राष्ट्रिय स्तरको अर्को लिग नहुने संकेत गर्‍यो ।

क्यान अध्यक्ष चतुरबहादुर चन्दले एउटै मात्र आधिकारिक लिग नेपाल टी–२० लिग भएको घोषणा गरेका थिए । अन्य लिगको भविष्य के हुन्छ भन्ने प्रश्नमा सिधा नभने पनि यसअघि जस्तो शैलीमा नहुने उनले प्रष्ट पारे ।

यसअघिको शैलीमा लिग नहुने बताएपछि ईपीएल आयोजक र फ्रेन्चाइज टिमका मालिकहरु झस्किए । उनीहरुले सोमबार संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै ईपीएललाई निरन्तरता दिनुपर्ने माग मात्र राखेनन्, नभए क्रिकेट संघका कार्यक्रमहरु बहिस्कार गर्नेसम्म घोषणा गरे ।

क्रिकेट संघले मंगलबार विज्ञप्ति निकालेर त्यसको प्रतिवाद गरेको छ ।

‘एभरेस्ट प्रीमियर लिगका सञ्चालकले एक कार्यक्रमको आयोजना गरी प्रेस विज्ञप्तिमार्फत नेपाली क्रिकेटको सर्वोच्च निकाय नेपाल क्रिकेट संघविरुद्ध धम्कीपूर्ण शैलीमा सार्वजनिक रूपमा प्रेषित विज्ञप्तिप्रति संघको गम्भीर ध्यानाकर्षण भएको छ,’ क्यानको विज्ञप्तिमा भनिएको छ, ‘उपरोक्त गैरजिम्मेवार, कपोकल्पित र भ्रामक प्रचारबाजीको नेपाल क्रिकेट संघ खेद प्रकट गर्दछ । यस प्रकारका भ्रामक समाचारप्रति सचेत रहन सबै सरोकारवालाहरूलाई संघ हार्दिक अनुरोध गर्दछ ।’

बोर्ड बैठक बसेर यो वक्तव्य जारी गर्न खोजेको क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले जानकारी दिए । उनका अनुसार ईपीएललाई रिजनल (क्षेत्रीय) लिग गर्न दिन सकिन्छ, तर राष्ट्रिय लिगको मान्यता दिइने छैन ।

ईपीएल आयोजक र फ्रेन्चाइज टिमहरुको माग भने यसअघि झै निरन्तरता दिन पाउनुपर्ने छ ।

ईपीएल क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय