
११ जेठ, काठमाडौं । सिरहाको लहान नगरपालिकाले दैनिक ज्यालादारीमा भर्ती भएका ८१ जना कर्मचारी हटाएको छ ।
नवनिर्वाचित मेयर महेशप्रसाद चौधरीले विभिन्न नाममा कार्यकर्ता भर्ती गरेर नगरपालिकाको राजश्व दोहोन मात्रै गरेको भन्दै ज्यालादारी कर्मचारी हटाएको बताए ।
‘मेयरको सुरक्षादेखि घरमासमेत काम गर्ने, मेयरको भाइको सुरक्षाको लागि भनेर खटाइएका, वडाहरुमा विभिन्न पद दिएर राखिएका ज्यालादारी कर्मचारी हटाएको हौं,’ उनले अनलाइनखबरसँग भने, ‘हामी काम गर्ने सक्षम कर्मचारी राख्छौं । सकेसम्म सरकारी, निजामती कर्मचारीको व्यवस्था गर्छौ नत्र अति आवश्यक स्थानमा मात्रै करारका कर्मचारी राख्छौं ।’
चौधरीका अनुसार ज्यालादारी कर्मचारीको लागि नगरपालिकाबाट मासिक ३० लाखसम्म बजेट खर्च हुने गरेको थियो ।
चौधरीको आदेशपछि प्रमुख प्रशासकीय अधिकृत खेमनन्द भुषालले एक सूचना निकालेर ज्यालादारी कर्मचारीलाई काम नलगाउन निर्देशन दिएका छन् ।
प्रतिक्रिया 4