
११ जेठ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा प्रमुख पदमा भन्दा उपप्रमुख पदमा बढी मत बदर भएको छ । खसेको मत ९३ हजार ७८२ को झण्डै ४७ प्रतिशत मत बदर भएको छ । उपप्रमुख पदमा निर्वाचित उम्मेदवारको भन्दा बदर मत बढी छ ।
उपप्रमुखमा निर्वाचित भएका नेपाली काँग्रेसका उम्मेदवार इम्तियाज आलमले ३० हजार ७८ मत पाएका थिए । तर उपप्रमुख पदमा ४३ हजार ७५३ मत बदर छ । उपप्रमुखले पाएको भन्दा १३ हजार ६५७ मत बदर भएको हो ।
प्रमुख पदमा उपप्रमुखको तुलनामा कम मत अर्थात् २० हजार १९० मत मात्रै बदर छ । प्रमुखमा विजयी उम्मेदवार राजेशमानले ४६ हजार २१५ मत पाएका थिए । प्रमुख पदमा २१.५ प्रतिशत मत बदर भएको छ ।
वडा अध्यक्ष लगायत अन्य पदमा पनि बदर मत देखिएको छ । मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले सबैभन्दा बढी मत उम्मेदवार नै नभएको ठाउँमा मत खसाएका कारण भएको जानकारी दिए ।
त्यसबाहेक मतपत्रमा निर्वाचन चिन्हको कोठा भन्दा बाहिर छाप लगाएको, उम्मेदवार भएकोमा आवश्यकता भन्दा बढी चिह्नमा मत दिएको, राजनीतिक समीकरण भए नभएका सबै पदमा मत दिएको लगायतका कारणले गर्दा मत बदर बढी देखिएको मुख्य निर्वाचन अधिकृत पौडेलले बताए ।
मतदाता शिक्षाको अभाव र राजनैतिक दलको कमजोरीका कारण पनि बढी मत बदर भएको मुख्य निर्वाचन अधिकृत पौडेलेको भनाइ छ ।
‘एक त यसवर्ष मतदाता शिक्षा पनि दिइएन । राजनीतिक दलले आपसमा समीकरण त बनाए, तर मतदातालाई बुझाउन सकेनन् । भोट मागे तर कसरी दिने भनेर सिकाएनन्’, उनले भने, ‘मतदाताले उम्मेदवार नै नभएको ठाउँमा समेत भोट खसाइदिए छन् ।’
प्रतिक्रिया 4