११ जेठ, काठमाडौं । दुई दशकभन्दा लामो समयदेखि अखिल नेपाल फुटबल संघ एन्फाको नेतृत्वमा रहेका गणेश थापामाथि विजय हासिल गर्न कर्मा छिरिङ शेर्पाले ल्याएको सबैभन्दा चर्चित नारा थियो– ‘चेन्ज एन्फा’ ।
यही नाराको बलमा कर्मा चार वर्षअघि लोकप्रिय मतसहित नेपाली फुटबलको नियामक निकाय एन्फा नेतृत्वमा पुगेका हुन् ।
के हो त चेन्ज एन्फा ?
एन्फाको आमूल परिवर्तन, विधि/विधानअनुसार पारदर्शी कार्यसम्पादन र व्यावसायिकताको आधारमा रहेर यो नारालाई चर्चित बनाइएको थियो ।
कोरोना महामारी र आफ्नै कार्यसमितिका ‘सहयोद्धा’को पर्याप्त साथ नपाए पनि एक कार्यकालमा चेन्ज एन्फाको नारालाई धेरै हदसम्म सार्थक बनाउने प्रयास गरेको कर्मा बताउँछन् । आफूले सुरु गरेका परिवर्तनका योजनालाई संस्थागत गर्ने भन्दै कर्माले एन्फा अध्यक्षका लागि उम्मेदवारी दिएका छन् ।
चार वर्षअघि वैशाख २२ गते काठमाडौंमा भएको निर्वाचनमा लोकप्रिय मत (खसेको ७५ मध्ये ६३ मत) ल्याएर प्यानलसहित विजय प्राप्त गरेका कर्मालाई यसपल्ट दोहोरिन सहज भने छैन ।
चेन्ज एन्फाका लागि आफू नेतृत्वको अभियानलाई पहिलो दिनदेखि नै साथ दिएका पंकज विक्रम नेम्वाङ यसपल्ट कर्माको प्रतिद्वन्द्वी छन् । वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष पंकज र कर्माबीच निर्वाचनको आधा कार्यकाल नबित्दै फाटो आएको थियो । असन्तुष्ट समूहको नेतृत्व गरी पंंकज अहिले प्यानलसहित ‘चेन्ज कर्मा’को अभियानमा छन् ।
चार वर्षे कार्यकालमा कर्मालाई आफ्ना पुराना सहयात्रीको सट्टा सधैं संस्थापनमा रहन रुचाउने सीमित विवादास्पद व्यक्तिको कुरा सुन्ने गरेको आरोप लागेको थियो । चेन्ज एन्फाको अभियानमा लामो समयसम्म सहकार्य गरेका धेरैजसो व्यक्ति अहिले कर्माको साथमा छैनन् ।

एन्फाको कार्यसमिति निर्वाचनमा ८७ जना मतदाता छन् । आबद्धता पाएका जिल्ला फुटबल संघ र तीन श्रेणीका फुटबल क्लबको मतबाट चार वर्षका लागि कार्यसमिति छानिन्छ ।
करोडौंको आर्थिक कारोबारको बागडोर सम्हाल्न पाइने भएकाले नेपाली खेल संघमध्ये एन्फाप्रति धेरैको मोह रहने गर्छ । तर, सीमित मतदाता भएकाले लामो समयसम्म नेतृत्वमा रहनका लागि सहज हुने यसले तानाशाही प्रवृत्तिलाई बढावा दिनसक्ने जोखिम पनि उत्तिकै छ ।
त्यसोभए कर्माले दोहोरिन चाहनुको अर्थ पनि तानाशाही प्रवृत्तिको पुनरावृत्ति हो त ?
कर्माले त्यसलाई ठाडै अस्वीकार गरे ।
‘तीन दशकदेखि म जुन प्रवृत्तिको विरोधमा लागेको छु, त्यसको हिमायती हुनुभन्दा अगाडि म आफैं फुटबलबाट टाढिन्छु,’ कर्माले अनलाइनखबरसँग भने, ‘एन्फा सञ्चालनका लागि नेतृत्वले नीति निर्माण गर्ने हो, सचिवालय र समितिले त्यसको कार्यान्वयन गर्ने हो । थिती बसाल्ने प्रक्रिया सुरुवात भइसकेको छ, त्यसलाई संस्थागत गर्नका लागि दोहोरिन खोजेको हुँ ।’
पहिलो कार्यकालमा कर्माले के गरे ?
चार वर्षअघि एन्फाको बागडोर सम्हाल्दै गर्दा कर्माले विधि र विधानअनुसार एन्फा सञ्चालन, युथ र ग्रासरुट कार्यक्रम सञ्चालन, महिला फुटबललाई प्राथमिकता र राष्ट्रिय टोलीको सफलतालाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
यसबीचमा कोरोना महामारीका कारण निर्धारित उद्देश्य पूरा हुन नपाएको कर्मा बताउँछन् । त्यसबाहेक आफ्नै सहयात्रीले हरेक निर्णयमा अवरोध गर्नुले पनि एन्फा नेतृत्वले चाहेअनुसार काम गर्न सकेन । रौतहटमा महिला फुटबल एकेडेमी निर्माणलगायतका केहि अपरिपक्व निर्णयले पनि एन्फा नेतृत्व अप्ठेरोमा परेको हो ।
निर्वाचित भएलगत्तै एन्फाले पाँच वर्षदेखि रोकिएको शहीद स्मारक ए डिभिजन लिग सुरु गर्यो । रेलिगेसनविनाको लिग सञ्चालन गरेर कर्माले क्लबहरुलाई ‘भोट’को गुन तिरेको भनेर आलोचना पनि भए ।
एन्फा सुधारका लागि नीतिगत सुधारको पाटोमा एन्फामा उल्लेख्य सुधार भएको छ । कार्यसञ्चालन नियमावली, कर्मचारी नियमावली र आर्थिक नियमावलीले एन्फाको कार्यसम्पादनलाई धेरै हदसम्म पारदर्शी बनाएको छ ।
एन्फाको पछिल्लो नेतृत्वले १४ वटा समिति र ८ वटा विभाग बनाएर विकेन्द्रिकृत नीति लिएको छ । रेफ्री विभाग, प्रतियोगिता विभाग, फाइनान्स विभाग, प्राविधिक विभाग, मार्केटिङलगायतका ८ विभागहरु कार्यान्वयनमा छन् । केन्द्रीय सदस्यको नेतृत्व रहने गरी बनाइएका १४ वटा समितिको कार्यविधि बन्न बाँकी छ ।
कर्माको कार्यकालमा रौतहटमा महिला फुटबल एकेडेमी, एन्फा मुख्यालयसहित एकेडेमी भवनको पुनर्निर्माण, धरान र बुटवल टेक्निकन सेन्टर सेन्टरको स्तरोन्नत्ति, कास्कीको भण्टाबारीमा बहुउद्देश्यीय टेक्निकल सेन्टर निर्माणलगायतका भौतिक पूर्वाधार निर्माणका योजनाहरु सञ्चालन भए ।
रौतहटको चन्द्रपुरमा निर्माणाधीन महिला एकेडेमीको अधिकांश काम भए पनि वनको जग्गामा संरचना बन्न लागेको भन्दै अदालतमा रिट दायर भएको छ । कास्कीमा बन्ने संरचनामा अनिमितता भएको भन्दै फिफा र एएफसीमा उजुरी परेको थियो । फिफाका प्रतिनिधिले सो स्थानको स्थलगत अनुगमन गरी काम सुरु गर्न सहमति दिइसकेको कर्माले बताए ।
फिफा फरवार्ड कार्यक्रमअनुसार आएका अनुदान सहयोगलाई पारदर्शी रुपमा सदुपयोग गरेको एन्फा संस्थापनको दाबी छ ।
यसबीचमा आर्थिक अनियमितताको आरोपसहित फिफा र एएफसीमा रिटसमेत परेको थियो । फिफाले आफैं अडिटर पठाएर गरेको अनुसन्धानमा आफूहरुले ‘क्लिन चिट’ पाएको संस्थापन पक्ष बताउँछ । यसलाई संघकै असन्तुष्ट पक्षले गरेको अनावश्यक व्यवधानका रुपमा कर्माले लिएका छन् ।
रेफ्री र प्रशिक्षक उत्पादनमा पनि कर्माका यो कार्यकालमा धेरै उपलब्धी भएका छन् । एन्फा आफैंले बी लाइसेन्ससम्मको प्रशिक्षक प्रशिक्षण शिविर सञ्चालन गरी प्रमाणपत्र प्रदान गर्न फिफा र एएफसीबाट मान्यता पाएको छ ।
संस्थागत विकासका आगामी योजना
कर्माले आगामी कार्यकालका लागि केहि नयाँ योजना सार्वजनिक गरेका छन् । अघिल्लो कार्यकालमा पूरा हुन नसकेको राष्ट्रिय लिग सञ्चालन गर्ने, सिटी लिग सञ्चालन गर्ने, ए डिभिजन लिगको समयसीमा बढाउने, वार्षिक क्यालेन्डर निकालेर मोफसलका प्रतियोगिता व्यवस्थित गर्ने कर्माका योजना छन् ।
विद्यालयका बालबालिकालाई फुटबलमा आवद्ध गराउन हरेक शनिबार स्कुले युवा टिमबीच सिटी लिग सञ्चालन गर्ने सिटी लिगको अवधारणामा पर्छ । यसले ग्रासरुट र युथ कार्यक्रमलाई पनि टेवा पुग्ने कर्मा बताउँछन् ।

अघिल्लो कार्यकालमा एन्फाले आबद्धता भएका सबै जिल्लामा एकैपल्ट ग्रासरुट कार्यक्रम सञ्चालन गरेको थियो । २०७६ भदौमा सञ्चालित त्यो कार्यक्रमले निरन्तरता पाएको छैन । एन्फाको यो ग्रासरुट कार्यक्रमका लागि एएफसीले युथ फुटबल विकासका लागि ‘ब्रोन्ज मेडल’ प्रदान गरेको थियो ।
‘कोरोनाले हामीलाई बाधा गरेको थियो । आगामी वर्ष दोब्बर बालबालिकालाई समावेश गर्ने गरी ग्रासरुट कार्यक्रमले निरन्तरता पाउनेछ,’ कर्माले अनलाइनखबरसँग भने, ‘हामी एएफसीले ‘सिल्भर मेडल’का लागि प्रयासरत हुनेछौं ।’
कर्माको समूहले यो निर्वाचनमा निरन्तर परिवर्तन र संस्थागत विकासको नारा लिएको छ । त्यो भनेको परिवर्तनका लागि भएका प्रयासलाई संस्थागत गर्नु हो । एन्फालाई थप व्यावसायिक र प्रविधिमैत्री बनाउनेतर्फ आफ्नो ध्यान जाने उनले उम्मेदवारी घोषणासभामा बताएका थिए ।
आगामी वर्षहरुमा फिफा र एएफसीको सहकार्यमा ‘ए’ र प्रो लाइसेन्स प्रशिक्षक प्रशिक्षण कक्षा नेपालमै सञ्चालन गर्ने तयारीसहित योेजना बनाइने कर्माले बताएका छन् ।
राष्ट्रिय टिमको सफलता
आफ्नो कार्यकालमा महिला र पुरुष उमेरसमूह तथा सिनियर टोलीका उपलब्धीलाई पनि कर्माले स्वभाविक रुपमा आफ्नो उपलब्धीको हिस्सा मानेका छन् ।
गत वर्ष साफ च्याम्पियनसिपमा नेपालले ऐतिहासिक फाइनलको यात्रा तय गरेको थियो । कतार फुटबल संघसँगको सहकार्यमा प्रो लाइसेन्सप्राप्त कुवेती प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको आगमनपछि राष्ट्रिय टिमको स्तर बढेको संस्थापन पक्षको बुझाइ छ । तर, प्रशिक्षक अल्मुताइरीको सनकीपन र स्वेच्छाचारी गतिविधिले कर्मालाई संकटमा पारेको छ ।
पछिल्लो समय प्रशिक्षक र खेलाडीबीच विवादमा एन्फा अध्यक्षका रुपमा कर्माको भूमिकालाई पनि धेरैले आलोचना गरेका छन् र राष्ट्रिय टोलीका सिनियर ११ सदस्यलाई बाहिर राखेर एएफसी एसियन कप छनोटका लागि टिम पठाइएको छ । प्रमुख प्रशिक्षकमाथि ‘एक्सन’ लिन कतार फुटबल संघसँगको सम्बन्धको जोखिमलाई लिएर एन्फा नेतृत्व शसंकित देखिएको छ ।
नेपाली पुरुष टोलीले कोरोना महामारीबीच आयोजना गरिएको त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि जितेको थियो । नेपालले बंगलादेश र कीर्गिस्तान–२३ टोलीलाई हराएर २०७७ चैतमा त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि जितेको थियो ।
कोरोना महामारीको समयमा पनि ए डिभिजन लिगलाई निरन्तरता दिन सकिएको र नेपालको इतिहासमै पहिलोपल्ट फ्रेञ्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग आयोजना हुनुलाई पनि कर्माले आफ्नो उपलब्धी मानेका छन् ।
महिलातर्फ नेपाली टोली भारतमा आयोजित हिरो गोल्ड कपको उपविजेता बनेको थियो भने ओलम्पिक छनोटको दोस्रो चरणमा पुगेको थियो । नेपाली महिला खेलाडीहरुले विदेशी फ्रेञ्चाइज लिगको अवसर प्राप्त गरेका थिए ।
प्रतिक्रिया 4