
११ जेठ, काठमाडौं । सरकारले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई विभिन्न शुल्कमा शतप्रतिशत छुट दिइएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार यस विमानस्थलमा अवतरण शुल्क, विश्राम शुल्क, सञ्चार तथा उड्डयन शुल्क र सुरक्षा जाँच शुल्कमा शतप्रतिशत छुट दिने निर्णय भएको हो । यस्तो छुट १४ जेठ (२८ मे २०२२)बाट लागू हुने भएको छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख गोविन्द दाहालका अनुसार यस्तो छुट एक वर्षसम्म लागू हुनेछ । ‘एक वर्षसम्म हामी शतप्रतिशत छुट दिन्छौं,’ उनले भने, त्यसपछि परिस्थिति हेरेर नयाँ निर्णय हुन्छ ।’ यसले नयाँ गन्तब्यमा उडान गर्न इच्छुक वायुसेवा कम्पनी आकर्षित गर्न सहयोग पुग्ने उनको भनाइ छ । ‘धेरै भन्दा धेरै कम्पनीहरु यो विमानस्थलमा आकर्षित हुन सकुन भन्ने हाम्रो आषय हो,’ उनले भने ।
कति सम्म हुन्छ छुट ?
विमानस्थल प्रमुख दाहालका अनुसार विमानस्थलहरुमा जहाजको तौलका आधारमा शुल्क लिने गरिन्छ । अहिले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान गरिरहेको जजिरा एयरवेजको जहाजको तौल ७६ हजार किलो हो । यो जहाजले प्रतिउडान विभिन्न शुल्क गरी विमानस्थललाई १ लाख रुपैयाँसम्म छुट पाउँछ ।
सातामा तीन उडान गर्दा सो कम्पनीको छुट ३ लाख हुन आउँछ । यसले कम्पनीहरुलाई नयाँ विमानस्थलमा कम यात्रु भए पनि उडान नियमित गरिराख्न प्रेरित गर्ने प्राधिकरणको विश्वास छ ।
अरु कम्पनीले कहिले गर्लान उडान ?
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले जजिराले मात्र साताको तीन उडान गर्ने गरी अनुमति लिएको हो । यसबाहेक फ्लाइ दुबई र एअर अरेबियाले निकट भविष्यमा उडान गर्न सक्ने देखिएको विमानस्थल प्रमुख दाहालले बताए ।
यसबाहेक बंगलादेश, भियतनाम, कम्बोडियासहितका मुलुकका वायुसेवा कम्पनी भैरहवा आउन सक्ने सम्भावना देखिएको उनले बताए ।
प्रतिक्रिया 4