
११ जेठ, काठमाडौं । स्थानीय तहको नेतृत्व गर्ने आशमा प्रदेश सभाबाट ८ जना सदस्यहरु राजिनामा दिएर निर्वाचनमा होमिए । प्रदेश सभा सदस्यबाट राजिनामा दिएका मध्ये ६ जनाले हार व्योहोरेका छन् । २ जना भने स्थानीय तहमा निर्वाचित भएका छन् ।
प्रदेश १ प्रदेशसभाबाट राजिनामा दिएर इलामको सूर्योदय नगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएका नेकपा एमालेका नेता काजिमान कागते पराजित भए । उनलाई नेकपा एकीकृत समाजवादीका उम्मेद्वार तथा सूर्योदयका पूर्व प्रमुख रणबहादुर राईले पराजित गरे ।
राईले १२ हजार ४३१ मत ल्याउँदा कागतेले १० हजार ५७९ मत ल्याएका हुन् । एमाले उम्मेदवार कागते १ हजार ८५२ मतान्तरले पराजित बने । कागते एमालेबाट मेयर जित्ने दाबीका साथ स्थानीय तहको निर्वाचनमा होमिएका थिए ।
जनताले बोलाएको दाबीलाई मतले उल्टाएपछि
प्रदेश सभा सदस्यबाट राजिनामा दिएपछि सर्लाहीको गोडैताका उपेन्द्रप्रसाद कुशवाहाले भनेका थिए, ‘जनताले बोलाए, त्यसैले प्रदेश सभा छाडेर मेयर लड्न आएँ ।’ सर्लाही क्षेत्र ४ (ख) बाट मधेस प्रदेश सभा सदस्य रहेका उनी राजिनामा दिएर गोडैता नगरपालिकाको मेयर उठेका थिए ।
उनले मेयरका लागि भोट माग्दा जनताको सेवा गर्न प्रदेश सभा छाडेको भन्ने गरेका थिए । जे भनेर भोट मागे पनि उनलाई जनताले मेयरमा पत्याएनन् ।
उनी चुनावमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का देवेन्द्रकुमार यादवसँग ५४२ मतले पराजित भएका छन् । दोस्रो पटक नगर प्रमुखमा निर्वाचित भएका लोसपाका यादवले ५ हजार २९४ मत ल्याए ।

निकटतम प्रतिद्वन्द्वी कुशवाहाले ४ हजार ७५२ मत पाए । कुशवाहा २०७४ सालको स्थानीय निर्वाचनमा पनि नगर प्रमुखमा यादवसँगै पराजित भएका थिए । त्यो बेला कुशवाहा २२८ मतले पराजित भएका थिए ।
यादवले ३ हजार ९०२ मत पाउँदा दोस्रो भएका कुशवाहाले ३ हजार ६७४ मत ल्याएका थिए ।
मेयर हारेका उनले २०७४ कै मंसिरमा भएको प्रदेश सभामा टिकट पाए र चुनाव जिते । जनताले जिताएको प्रदेश सभाको सदस्य छाडेर मेयर बन्न खोजेका उनले यसपाली भोट त बढाए, तर देवेन्द्रलाई हराउन सकेनन् ।
पूर्व सहकर्मीसँगको हार
यस्तै गण्डकी प्रदेश सभा सदस्य राजिनामा दिएर महानगरको मेयरमा उम्मेद्वार बनेका कृष्ण थापा आफ्ना पूर्वसहकर्मी धनराज आचार्यसँग नराम्ररी पराजित भए ।
थापा अघिल्लो स्थानीय तहको निर्वाचनमा पनि मेयरका आकांक्षी थिए । एमालेबाट पोखराको मेयर बन्ने दौडमा अन्तिम तीन प्रतिस्पर्धीमध्येका थापाले टिकट पाएनन् ।

२०७४ को स्थानीय तह निर्वाचनमा मानबहादुर जिसीले टिकट पाए र मेयर बने । यसपटक जसरी पनि टिकट हात पार्ने रणनीतिमा थापा थिए ।
टिकट त पाए तर धनराजले ५८ हजार मत पाउँदा थापाले ५२ हजार मात्रै मत पाए । उसो त उनी गण्डकी सरकारमा एमालेका पृथ्वीसुब्बा गुरुङ नेतृत्वको प्रदेश सरकारमा मन्त्री हुन जोडबल गरे पनि नेता खगराज अधिकारी समूहका थापाको जोर चलेको थिएन ।
सांसद छोडे, मेयर पाएनन्
लामो राजनीति यात्रा बोकेका विजय सुवेदी प्रदेश सांसद छोडेर भरतपुर महानगरको मेयर बन्न गए । गठबन्धन भित्रबाट नेपाली कांग्रेसका जगन्नाथ पौडेलले बागी उम्मेद्वारी दिएपछि सहज मैदानमा मानेका सुवेदीले आफ्नै पार्टीको मत जोगाउन सकेनन् ।

उनी नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालसँग पारजित भए । उनलाई गठबन्धनबाट मेयर बनेकी दाहालले ५२ हजार २८ मत ल्याइन् भने सुवेदीलाई ३९ हजार ५ सय ८२ मत मात्रै आयो ।
सुवेदी १६ वर्षको उमेरदेखि नै कम्युनिस्ट राजनीतिमा लागेका थिए । २०३७ सालमा चितवनको गुञ्जनगर बसाइ सरेका सुवेदीको परिवार २०६५ देखि भरतपुर–१२, मिलनचोकमा स्थायी भएको हो ।
चर्चा धेरै मत कम
यो स्थानीय तहको निर्वाचनमा सर्वाधिक चर्चा र विवादका पात्र बनेका उम्मेद्वार हुन केशव स्थापित । बागमतीको प्रदेश सांसदबाट राजिनामा दिएर फेरि काठमाडौंको मेयर हुन आएका थिए । आफ्ना विपक्षीहरुलाई कमजोर र निम्नस्तरको टिप्पणी गरेका स्थापितले प्रतिस्पर्धी नै नभएकोसम्म भ्याए ।
उनलाई मिटू अभियानले थप विवादित बनाएको थियो । तर स्थापितलाई स्वतन्त्र उम्मेद्वार बालेन्द्र शाह(बालेन)ले सुरु देखि नै पछि पारेका थिए । मतगणनाको अन्तिम चरणमा आईपुग्दा बालेनको जित पक्का भईसकेको छ भने यो समाचार तयार पार्दासम्म स्थापित तेस्रो स्थानमा छन् ।

झण्डै डेढ दशकपछि मेयरको त्यही कुर्सीमा उक्लिन चुनावी मैदानमा उत्रिएका स्थापित यो राजधानी सहरको चुनावी खेलका निकै अनुभवी खेलाडी भएता पनि ठुलो झड्का खाए ।
२०४३ सालको काठमाडौं नगरपञ्चायतको चुनावमा उनी तत्कालीन नेकपा (माले)का तर्फबाट उपप्रधानपञ्चको जनपक्षीय उम्मेदवार थिए । यस हिसाबले उनी ३६ वर्षयता निरन्तर काठमाडौंको नेतृत्व लिने खेलमा रहेका स्थापित यो चोटी पछि परे ।
सभापतिको हार पालिकामा
मधेश प्रदेशका प्रदेशसभा सदस्य स्थानीय तहको निर्वाचनमा पराजित भएका छन् । रौतहटको गढीमाई नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका प्रदेशसभा सदस्य शेख अबुलकलाम आजाद पराजित भएका हुन् ।
प्रदेशसभा सदस्यबाट राजिनामा दिएर गढीमाई नगरपालिमामा जनता समाजवादी पार्टी (जसपा)बाट मेयर पदका उम्मेदवार बनेका अबुलकलाम आजादलाई नेपाली कांग्रेसका श्यामप्रसाद यादवले पराजित रेका हुन् ।
दोस्रो कार्यकालका लागि निर्वाचित भएका श्यामप्रसाद यादवले ८६३१ मत ल्याउँदा आजादले भने ८०७३ मत ल्याए । अब्दुल कलाम मधेश प्रदेश सरकारको विकास समितिको सभापतिसमेत थिए ।
र जसले जिते
राजिनामा दिएका ८ प्रदेश सांसद मध्ये दुई प्रदेश सांसदले भने जितेका छन् । लुम्बिनी प्रदेश सांसद दिपेश थारुले जीत हात पारेका हुन् । बर्दियाको राजापुर नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रबाट थारु निर्वाचित भएका हुन् ।
उनी ९ हजार ८०७ मत ल्याएर निर्वाचित भए भने उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसक दीपकजंग शाहले नौ हजार ७६० मत ल्याए । त्यस्तै नेकपा एमलेका पहारी चौधरीले ६ हजार ७२ मत पाए ।
एक नम्बर प्रदेशको प्रदेश सभा सदस्य छोडेर गएका गोपालचन्द्र बुढाथोकी भने मेयरमा निर्वाचित भएका छन् ।
झापाको मेचीनगर नगरपालिकाका एमालेका नगरप्रमुखका उम्मेद्वार बनेका गोपालचन्द्र बुढाथोकी २६ हजार ४७८ मत प्राप्त गरेर विजयी भएका हुन् । निकटतम प्रतिस्पर्धी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका इन्द्रबहादुर बुढाथोकीले २१ हजार ३११ मत प्राप्त गरेका थिए ।
प्रतिक्रिया 4