
काठमाडौं । र्याप गायक बालेन साह काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित हुँदैछन् । मतगणना अन्तिम चरणमा पुगेकाले विजयको औपचारिक घोषणा मात्र हुन बाँकी छ ।
सन् २०१३ को चर्चित र्याप ब्याटल र-बार्जबाट चर्चामा आएका बालेन समयको गतिमा काठमाडौंको मेयर बन्दैछन् । प्रमुख राजनीतिक दलका उम्मेदवारलाई झण्डै २० हजार मतान्तरले हराउँदै उनले पाँच वर्ष काठमाडौंको साँचो सम्हाल्नेछन् ।
बालेन मेयर बन्ने सुनिश्चित भएपछि कलावृत्तमा उत्साह छाएको छ । डेढ दशकदेखि उनीसँगै सहकार्य गर्दै आएका मुलुकका चर्चित र्यापरले बालेनको उदयले युवापुस्तालाई प्रेरणा दिने प्रतिक्रिया दिएका छन् ।
चुनाव जितेका बालेनको असली परीक्षा बल्ल सुरु भएको उनीहरुको भनाइ छ । र्यापर गिरिश खतिवडा बालेन सही समयमा मेयर भएको बताउँछन् ।
‘र्यापजस्तो ग्ल्यामर क्षेत्रबाट ऊ (बालेन) युवापुस्ताले डर्टी गेम भनिने राजनीतिमा छिरेर फोहोर सफा गर्न थाल्दैछ । यसले राजनीतिलाई घृणा गर्ने युवापुस्तालाई राजनीतिमा आउन प्रेरित गरेको छ,’ उनले भने ।
गिरिशले बालेनलाई चुनौतीको रुपमा नलिएर असल लिडरको रुपमा लिन दललाई आग्रह गरे । ‘यसले युवाको मनोबल ह्वात्तै बढाएको छ । अब काम गरेर देखायो भने आशा पनि बढ्छ,’ गिरिश भन्छन् ।
झण्डै १५ वर्षदेखि बालेनसँग सांगीतिक सहकार्य गर्दै आएका अर्का र्यापर आशिष राना लाउरे बालेनको जितले आफूहरुलाई उत्साह दिलाएको बताउँछन् । ‘उसको जितले एउटा आर्टिस्टले समाजलाई पनि लिड गर्न सक्छ भन्ने सन्देश दिएको छ,’ लाउरे भन्छन्, ‘बालेन आफ्नो भिजनमा स्पष्ट छ र उसले काम गर्न सक्छ भन्नेमा म विश्वस्त छु ।’
वास्तविक गेम बल्ल सुरु भएको लाउरेको तर्क छ । ‘किनभने उहाँले कुनै राजनीतिक दललाई प्रतिनिधित्व गर्नुभएको हैन । चुनौती भएन भने त के मज्जा आयो र ? चुनौतीलाई चिरेर अघि बढ्नुपर्छ । त्यसभन्दा अघि पुग्छ जस्तो लाग्छ बालेन,’ उनी भन्छन् ।
युवापुस्ता मात्र नभएर अन्य उमेरका नागरिकलाई पनि बालेनले प्रेरणा दिने उनको भनाइ छ । अहिले पोखरामा रहेका लाउरे काठमाडौं फर्किएपछि आफ्ना साथी बालेनलाई भेटेर बधाई दिने तयारीमा छन् ।
प्रतिक्रिया 4