+
+

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि जित्दै शुक्र ‍बने नम्बर एक खेलाडी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १२ गते १८:००

१२ जेठ, काठमाडौं । धरानका प्रोफेसनल गल्फर शुक्रबहादुर राई सूर्य नेपाल गल्फ टुर २०२१-२२ अन्तर्गत सिजनको अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि जितेका छन् ।

च्याम्पियन बनेसँगै शुक्र नेपालको नयाँ नम्बर वान खेलाडी बनेका छन् ।

अन्तिम दिन ३ अन्डर ६९ को स्कोरसहित समग्रमा १९ अन्डर २६९ को सानदार नतिजामा निकालेर शुक्रले उपाधि उचालेका हुन् ।

करियरकै उत्कृष्ट स्कोर निकालेका शुक्रले धरानकै निरज तामाङलाई ६ स्ट्रोकले हराउँदै करियरको सातौ उपाधि हात पारे ।

उपाधिसँगै जितेको नगद दुई लाख पचास हजारले शुक्र पहिलो पटक नेपाल नम्बर एक गल्फर बनेका छन् । उनले यो सिजनको कुल आठमध्ये पाँच प्रतियोगिता मात्र खेलेपनि सर्वाधिक ६ लाख ६३ हजार ५०० नगद पुरस्कार जित्दै नम्बर एक बनेका हुन् ।

२ ओभर ७४ सहित समग्रमा १३ अन्डर २७५ स्कोर सहित निरज दोस्रो भए । तेस्रो भएका भुवनले नम्बर एक गल्फरको स्थान गुमाए । अन्तिम दिन २-अन्डर ७० स्कोर गरेका भुवनले समग्रमा १२ अन्डर २७६ स्कोर गरे । यो सिजन कुल ५ लाख ८० हजार ५ सय नगद पुरस्कार सहित दोस्रो स्थानमा झरे ।

एमेच्योर वाङ्गचेन ढोन्डुपले १ओभर ७३ सहित समग्रमा ११अन्डर २७७ सहित एमेच्योरतर्फ उपाधि जिते । समग्रमा भने उनी चौथो भए। अर्का एमेच्योर महेन्द्र फगामी समग्रमा १०-अन्डर २ सय ७८ सहित एमेच्योरतर्फ दोस्रो भए । उनले अन्तिम दिन ३-अन्डर ६९ को स्कोर गरे । समग्रमा भने उनी पाँचौ भए ।

एमेच्योरतर्फ एकक्षत्र राज गरिरहेको सुवास तामाङले समग्रमा ७-अन्डर २ सय ८१ सहित पुर्ण बहादुर शर्मासँग संयुक्तरुपमा छैठौं स्थानमा रहे ।  सुवासले ५-अन्डर ६७ र पुर्णले इभन-पार ७२ मा खेल सकाए ।

च्याम्पियन शुक्रले आज पहिलो होलमा बोगी खेपे पनि तेस्रो र सातौ होलको बर्डीले फ्रन्ट नाइन १-अन्डर ३५ मा सकाए । यसपछि ११ औं, १२ औं र १८ औं होलमा एक/एक सट बचाउँदा १४ औं होलमा बोगी प्रहार गर्दा ब्याक नाइन २-अन्डर ३४ मा पुरा गरे ।

दोस्रो भएका निरजले फ्रन्ट नाइन इभन-पार ३६ मा सकाउने क्रममा तेस्रो र सातौ होलमा बर्डी प्रहार गरे भने चौथो र पाँचौ होलमा एक-एक सट खेर फाले । यसपछि १४ औं र १५ औं होलको बोगीले ब्याक नाइन २-ओभर ३८ मा सकाए ।

सूर्य नेपाल टुरमा लामो समय सहयोग गर्नेलाई सम्मान

सूर्य नेपाल टुरमा लामो समय सहयोग गर्ने रामजी राजबाहक तथा रमेश नगरकोटी र समिर तामाङलाई कदर पत्र सहित सम्मान गरिएको थियो ।

सूर्य नेपाल प्रालिको प्रायोजनमा नेपाल प्रोफेसनल गल्फर्स संघद्वारा आयोजित चार दिने प्रतियोगितामा ४३ प्रोफेसनल र ११ एमेच्योर सहित ५४ खेलाडीको सहभागिता रहेको थियो ।

प्रतियोगितामा कुल पुरस्कार राशी १४ लाख ६१ हजार रहेको थियो । जहाँ विजेताले दुई लाख ५० हजार, दोस्रो र तेस्रो हुनेले क्रमश १ लाख ५५ हजार र १ लाख दश हजार प्राप्त गरे ।

विजयी खेलाडीहरुलाई सूर्य नेपाल प्रालिका मार्केटिङ उपाध्यक्ष दीपरा लहेरी, नेपाल प्रोफेसनल गल्फर्स संघका अध्यक्ष रबिन्द्र मान श्रेष्ठ र नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले पुरस्कार वितरण गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?