+
+

अनक्याप्ड रजत पटिदार जसले बैंगलोरको जितमा निर्णायक भूमिका खेले

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १२ गते १८:१८

१२ जेठ, काठमाडौं । रजत पटिदारले अविजित ११२ रन बनाउँदै रोयल च्यालेन्जर्स बैंगलोरले लखनउ सुपर जायन्ट्सलाई १४ रनले पराजित गर्दै आईपीएलको दोस्रो क्वालिफायरमा पुर्‍याए ।

बुधबार राति एडेन गार्डेनमा भएको एलिमिनेटर खेलमा पटिदारले ५४ बल खेल्दा १२ चौका र ७ छक्का प्रहार गरे । उनी यस सिजन सबैभन्दा छिटो शतक प्रहार गर्ने खेलाडी समेत बने ।

बैंगलोरले पहिले ब्याटिङ गर्दै २०३ रन बनाएको थियो । २०४ रनको लक्ष्य पछ्याएको लखनउले १९३ रन मात्र बनाउन सक्यो ।

रोचक कुरो त के छ भने रजत पटिदार अनक्याप्ड खेलाडी हुन् । उनले अहिलेसम्म भारतका लागि खेलेका छैनन् ।

अनी उनी अक्सनमा अनसोल्ड थिए । उनलाई बैंगलोरले लुभनिथ सिसोदियाको स्थानमा पछि टिममा राखेको थियो ।

सन् २०२१ मा बैंगलोरको टिममा रहेका रजत पटिदारले त्यस बेला चार खेलमा अवसर पाएका थिए । उनले चार खेलमा १७.७५ को औसतमा ७१ रन बनाएका थिए ।

यस सिजनमा पटीदारले बैंगलोरका लागि रन बनाएको यो पहिलो पटक होइन । लिग खेलमा उनले गुजरातविरुद्ध ५२ र हैदरावादविरुद्ध ४८ रन बनाएका थिए । यो इनिङ्स सहित उनले यस सिजनमा बैंगलोरका लागि ५५ को औसत र १५६ को स्ट्राइक रेटमा २७५ रन बनाएका छन् ।

छक्का प्रहार गर्दै उनले शततक पूरा गरेका थिए । यो अविस्मरणीय इनिङ्समा शतक पूरा गरेपछि रजत पटीदारले पिचमा आफ्नो शतकको बारेमा नभई सकेसम्म धेरै रन बनाउने बारेमा सोचेको बताए ।

रजत पाटीदारको इनिङ्स झनै महत्वपूर्ण बन्यो किनकी यो खेलमा बैंगलोरका तीन महान खेलाडी विराट कोहली, फाफ डु प्लेसिस र ग्लेन म्याक्सवेलको ब्याटबाट जम्मा ३४ रन बनेको थियो । जब कप्तान डु प्लेसिस शुन्यमा आउट भए त्यसपछि दबाको स्थितिमा पटिदार क्रिजमा आएका थिए ।

सचिनको अनुमान सही

बैंगलोरको इनिङ्स सकिएपछि सचिन तेन्दुलकरले ट्वीट गरे, ‘रजत पटीदारको शानदार प्रहार र दिनेश कार्तिकको ठूलो साथ । यो उत्कृष्ट स्कोर हो तर पिच र आउटफिल्डमा जुन प्रकारको खेल भइरहेको छ, मलाई लाग्छ यो खेल धेरै नजिक हुनेछ ।’

सचिन तेन्दुलकरको अनुमान एकदम सही साबित भयो । यो खेलमा बेंगलोरमा १४ रनले मात्र विजयी भएको थियो । जबकि खेलको १७ औं ओभरसम्म दुवै टोली लगभग बराबरीमा थिए ।

१८औं ओभरको समाप्तीमा बेंगलोरको १७३ रन थियो भने लखनउको १७५ रन । दुवैले समान ४ विकेट गुमाएका थिए ।

वास्तवमा, पहिलो तीन ओभरसम्म दुवै टोलीको स्कोर समान थियो, एक विकेट गुमाएर २० रन ।

१९औं ओभर टर्निङ प्वाइन्ट

१८औं ओभरपछि लखनउ बेंगलोर भन्दा २ रनले अघि थियो । तर त्यसपछि अचानक पछि पर्‍यो । १९औं ओभरमा बेंगलोरले २१ रन बनाएको थियो । तर लखनउले ९ रन मात्र जोड्न सक्यो ।

यो ओभरमा जोस हेजलउडले बलिङ गरेका थिए । तीन नोबल सहित यस ओभरमा हेजलउडले ९ बल फालेका थिए । जहाँ ओभरको चौथो र पाँचौ बलमा हेजलउडले विकेट लिए । उनले चौथो बलमा लखनउका कप्तान केएल राहुल र लगत्तै क्रिनाल पाण्ड्यालाई आउट गरे ।

त्यसअघि १८औं ओभरमा हर्षल पटेलले जम्मा ८ रन दिएका थिए । अन्तिम ओभल बलिङ गरेका उनै हर्षलले ९ रन मात्र खर्चेपछि बेंगलोर विजयी भयो ।

कसले के भने ?

खेलपछि तेन्दुलकरदेखि महान खेलाडीहरुले पटिदारको खेलको प्रशंसा गरेका थिए ।

हर्ष भोगलेले लेखे, ‘सम्भवतः सम्पूर्ण प्रतियोगिताको उत्कृष्ट इनिङ्स ।’

आकाश चोपडाले लेखेका छन्, ‘जोडदार, शानदार धमका, पटीदार।

वासिम जाफरले लेखे, ‘ एक अनक्याप्ड खेलाडीलाई सुपरस्टारहरूको बीचमा आफ्नो छाप बनाउन गाह्रो हुन सक्छ तर रजत पटीदारले नम्बर-३ स्थान आफ्नो बनाए । आजराति दबाबमा अर्को उत्कृष्ट इनिङ्स, राम्रो खेले ।’

वीरेन्द्र सहवागले लेखेका छन्, ‘रजत पाटीदार.. कस्तो गजबको पारी…’

पाटीदारको शतकमा इरफान पठानले ट्विट गरे, ‘उनले आरसीबीका लागि आफ्नो जीवनको उत्कृष्ट इनिङ खेले ।’

अमित मिश्रले पनि पटीदारको तारिफ गरेका छन् । उनले लेखे, ‘रिप्लेसमेन्टको रूपमा आए र आज आरसीबीलाई एलिमिनेटर जित्ने मौका दिए । रजत पटीदारलाई नमस्कार, तपाईंले हामी सबैलाई गौरवान्वित बनाउनुभएको छ ।’

रजतको शतक एक, कीर्तिमान अनेक

पटिदारको यस शतकपछि कीर्तिमानमा आफ्नो नाम समेत लेखाएका छन् ।

– रजतको शतकपछि आईपीएलको एकै सिजनमा बनेको सर्वाधिक शतकको कीर्तिमान बराबरी भएको छ । रजतअघि यस सिजन जोस बटलरले तीन, केएल राहुलले दुई र क्वीन्टन डे ककले एक शतक बनाएका थिए । आईपीएल २०१६ मा सर्वाधिक ७ शतक प्रहार हुँदा विराट कोहलीले चार शतक बनाएका थिए ।

– रजतको शतक यस सिजनको सबैभन्दा छिटो शतक हो । उनले ४९ बलमा शतक पूरा गरे । यसअघि केएल राहुलले ५६ बलमा शतक पूरा गरेका थिए । आईपीएलको सबैभन्दा छिटो शतक बेंगलोरबाटै क्रिस गेलले बनाएका थिए । उनले सन् २०१३ मा पुने वारियर्स इन्डिया विरुद्ध ३० बलमै शतक प्रहार गरेका थिए ।

– आईपीएलको प्लेअफमा शतक प्रहार गर्ने रजत पटिदार पहिलो अनक्याप्ड खेलाडी समेत बने । यसअघि प्लेअफ कुनै पनि अनक्याप्ड खेलाडीको बनाएको उच्च स्कोर कोलकता नाइट राइडर्सबाट खेल्दै मनिष पाण्डेले बनाएका थिए । उनले २०१४ को प्लेअफमा ९४ रन बनाएका थिए ।

– पटिदार आईपीएलमा शतक प्रहार गर्ने समग्रमा चौथो अनक्याप्ड खेलाडी हुन् । यसअघि मनिस पाण्डेले २००९, पल भल्थाटीले २०११ र देवदत्त पडिक्कलले २०२१ मा अनक्याप्ड खेलाडीको रुपमा शतक प्रहार गरेका थिए ।

–  यो प्लेअफमा बनेको पाँचौ शतक हो । यसअघि चेन्नाईका शेन वाट्सनले २०१८ को फाइनलमा, पञ्जावका ऋद्मन शाहले २०१४ को फाइनलमा, पञ्जावका विरेन्द्र सेहवागले २०१४ को क्वालिफायर-२ मा र चेन्नाईका मुरली विजयले २०१२ को क्वालिफार-२ मा शतक प्रहार गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?