
१२ जेठ, विराटनगर । आगामी आर्थिक वर्षको बजेटको तयारीका लागि प्रदेश १ का मन्त्रीहरु जिल्ला दौडाहामा निस्किएका छन् ।
बजेटमा स्थानीय तहको सुझाव र योजना संकलनका लागि मन्त्रीसहितको टोली जिल्ला जिल्लामा पुगेका हुन् । प्रदेशका १३ वटा जिल्लामा मन्त्री र एउटा जिल्लामा योजना आयोगका उपाध्यक्ष पुगेका हुन् ।
प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोका अनुसार आगामी बजेटका लागि सुझाव संकलन गर्न मन्त्रीहरु जिल्ला जिल्लामा गएका हुन् ।
आगामी आर्थिक वर्ष २०७९–८० का लागि प्रदेश १ सरकारले ३६ अर्ब हाराहारीको बजेट ल्याउदैछ ।
बार्षिक बजेट तथा कार्यक्रम तर्जुमाका लागि १४ वटै जिल्लाको सदरमुकाममा शुक्रबारका लागि कार्यक्रम राखिएको छ । कार्यक्रममा सहभागी हुनका लागि पहाडी जिल्लामा मन्त्रीसहितको टोली पुगिसकेको छ । योजना तर्जुमा छलफलमा जिल्लास्थित स्थानीय तहका प्रमुख उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, जिल्लास्थित कार्यालयका प्रमुख र सरोकारवाला सहभागी हुनेछन् । छलफलका लागि पुगेको टोलीमा मन्त्रालयका कर्मचारीहरु पनि छन् ।
मन्त्री आङ्बोका अनुसार मोरङमा मुख्यमन्त्री राजेन्द्र राईको उपस्थितिमा छलफल हुनेछ । आङ्बो छलफलका लागि उदयपुर जानेछन् ।
स्वास्थ्य मन्त्री जयराम यादवको भागमा ओखलढुंगा परेको छ । सञ्चार तथा यातायात मन्त्री उपेन्द्र घिमिरे सोलुखुम्बु पुगेका छन् ।
सामाजिक विकास मन्त्री राजन राई ताप्लेजुङ, सामाजिक विकास राज्यमन्त्री विष्णु तुम्बाहाङ्फे तेह्रथुम, खानेपानी सिँचाइ तथा उर्जा मन्त्री रामकुमार राई झापा, कृषि मन्त्री झलकबहादुर मगर खोटाङ पुगेका छन् ।
वन वातावरण तथा भू संरक्षण मन्त्री शेखर थापा संखुवासभा, पर्यटन तथा संस्कृति मन्त्री खिनु लङ्वा लिम्बू पाँचथर, उद्योग श्रम तथा रोजगार मन्त्री प्रतापप्रकाश हाङ्गाम धनकुटा, सडक पूर्वाधार तथा शहरी विकास मन्त्री हिमाल कार्की भोजपुर, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री ओमप्रकाश सरावगी सुनसरीको कार्यक्रममा सहभागी हुनेछन् ।
इलाममा योजना आयोगका उपाध्यक्ष पूर्णकुमार लोक्सम सहभागी हुनेछन् ।
मन्त्री र योजना आयोग उपाध्यक्षसहितको टोलीले संकलन गरेको सुझावलाई प्रदेश योजना बैंकमा राखेर प्राथमिकताका आधारमा बजेट विनियोजन गर्ने सरकारको तयारी छ ।
प्रदेश सरकारले जेठ १६ गतेबाट प्रदेशको अन्तिम तथा बजेट अधिवेशन बोलाएको छ । अधिवेशनअघि जिल्लामा गएको टोली फर्किसक्ने छ । टोली फर्किएपछि बजेटको तयारी गर्ने सरकारको तयारी छ ।
प्रतिक्रिया 4