
काठमाडौं । रामबाबु गुरुङ निर्देशित ‘कबड्डी ४’ शुक्रबारबाट नेपाल लगायत दर्जन बढी मुलुकमा रिलिज भएको छ ।
‘कबड्डी’को चौथो श्रृंखला नेपालका झण्डै डेढ सय पर्दामा रिलिज भएको छ भने बेलायत, अष्ट्रेलिया, अमेरिका, न्युजिल्याण्ड र केही युरोपेली मुलुकमा पनि प्रदर्शनमा आएको छ । भारत, जापान र अन्य मुलुकमा भने आगामी सातादेखि प्रदर्शनको तयारी छ ।
‘कबड्डी’का अघिल्ला तीनै श्रृंखलाले नेपालसहित डायस्पोरामा उत्कृष्ट कमाइ गरेका छन् । चौथो श्रृंखलाले त नेपाली बक्स अफिसमा व्यावसायिक कीर्तिमान राख्ने अनुमान छ ।
दयाहाङ राई, सौगात मल्ल र मिरुना मगरको मुख्य भूमिका रहेको ‘कबड्डी ४ : द फाइनल म्याच’ मुख्य पात्र काजी (दयाहाङ राई)को विवाह वरपर घुम्छ । फिल्ममा काजीको बिहे हुन्छ वा हुँदैन भन्ने कौतुहलता दर्शकमाझ छ ।
मैंयाबाट धोका पाएको काजीलाई बिहे गर्न रुचि छैन । तर उसको बाउलाई वंश जोगाउने चिन्ता छ । यस्तो परिस्थितिमा गाउँकी नयाँ शिक्षिका शान्ति (मिरुना)को प्रवेश हुन्छ । काजीलाई मन पराउने शान्तिको प्रेममा बमकाजी (सौगात) पागल छ ।
यस्तोमा शान्तिको बिहे काजी वा बमकाजीमध्ये कोसँग हुन्छ ? काजीको बिहे हुन्छ त ? यो प्रश्नको उत्तर नै द फाइनल म्याच हो । यो श्रृंखलालाई लिएर विश्वभरका नेपालीभाषी दर्शकमाझ व्यापक पर्खाइ रहेको थियो ।
काठमाडौंमा भव्य प्रिमियर
बिहीबार बेलुका कमलपोखरीस्थित बिग मुभिज मल्टिप्लेक्समा ‘कबड्डी ४’ को भव्य रेडकार्पेट प्रिमियर आयोजना गरियो, जहाँ नेपाली सेलिब्रिटी, फिल्मकर्मी र अन्य क्षेत्रका व्यक्तित्व उपस्थित रहे ।
कोरोना महामारीपछि पहिलोपटक यति भव्य शैलीमा ‘कबड्डी’को रेडकार्पेट कार्यक्रम आयोजना गरिएको हो । बिग मुभिजका तीनैवटा अडिटोरियम आगन्तुकले भरिएका थिए ।
फिल्मका कलाकारहरु सबैजना उपस्थित प्रिमियरमा कला, साहित्य, संगीत र फिल्मका चर्चित हस्ती पनि सहभागी रहे । पोस्ट–प्रिमियर पत्रकार सम्मेलनमा बोल्दै कलाकारले फिल्मको प्रशंसा गरे ।
तस्वीर : शंकर गिरी/अनलाइनखबर
प्रतिक्रिया 4