
काठमाडौं । लागूऔषध प्रकरणमा बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यनलाई नार्कोटिक्स कन्ट्रोल ब्युरोले सफाइ दिएको छ ।
सन् २०२१ को अक्टोबरमा आर्यन मुम्बई क्रुजको लागूऔषध मुद्दामा पक्राउ भएका थिए । ब्यरोले त्यहाँको एनडीपीएस अदालतमा दायर गरेको ६ हजार पृष्ठको चार्जसिटमा मुख्य आरोपी मानिएका आर्यनलाई सफाइ दिइएको हो ।
यस मामिलामा अक्टोबर २ मा पक्राउ परेका आर्यनलाई २६ दिनपछि जमानत मिलेको थियो । अनुसन्धानपछि आर्यनलाई ६ नोभेम्बरमा जमानत दिइएको थियो । यो मामिलामा आर्यनसहित १९ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो ।
एनसीबीका प्रमुख सञ्जयकुमार सिंहले आर्यन र मोहकलाई छाडेर सबै आरोपीले नशालु पदार्थ सेवन गरेको पाइएको बताए । बाँकी १४ आरोपीविरुद्ध विभिन्न धारामा रहेर चार्जसिट दायर हुनेछ ।
ब्युरोले अनुसन्धानमा आर्यनविरुद्ध थप प्रमाण जुटाउन नसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यो आरोपपत्र सामुन्ने आएपछि अनुसन्धानको नेतृत्व गरेका समीर वानखेडे पनि प्रश्नको घेरामा छन् ।
प्रतिक्रिया 4