
१३ जेठ, विराटनगर । प्रदेश १ सरकारले आयोजना गरेको बजेट तर्जुमा सम्बन्धी छलफलमा सहभागीले योजना छनोटमा तीन तहका सरकारबीच तालमेल नभएको गुनासो गरेका छन् ।
वर्तमान प्रदेश १ सरकारले आफ्नो अन्तिम बजेटका लागि शुक्रबार विराटनगरसहित १४ वटै जिल्ला सदरमुकाममा आगामी आर्थिक वर्ष २०७९–८० को बजेट तर्जुमा छलफल आयोजना गरेको थियो ।
विराटनगरमा आयोजित कार्यक्रममा सहभागिहरुले बजेट तर्जुमा गर्दा तीन तहका सरकारबीच तालमेल नभएको बताएका हुन् । तालमेल नहुँदा कुनै योजनामा दोहोरो बजेट पर्ने र कुनै योजनाका लागि बजेट नै नपर्ने गुनासो गरे ।
लेटाङ नगरपालिकाकी उपप्रमुख कृष्णकुमारी निरौलाले तीन तहको सरकारबीच समन्वय नहुँदा योजना छनोटमा समस्या हुने गरेको बताइन् ।
विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले तीन तहका सरकारबीच समन्वय नहुँदा प्रभावकारी नतिजा नआएको बताए । योजना छनोट र बजेट प्रकृयामा तालमेल नमिल्दा स्थानीय तहमा असर परेको उनको भनाई छ ।
मिक्लाजुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत होम पौडेलले तहगत बजेट सार्वजनिक गर्ने समय तालिका व्यवस्थीत नभएको बताए । स्थानीय तहको बजेट सार्वजनिक गरेर मात्रै प्रदेश र संघको बजेट सार्वजनिक गर्नुपर्ने उनको भनाइ छ ।
आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव सुमन दाहालले असार १० गतेको बजेट प्रस्तुत गर्नुअघि सुझाव लिएको बताए ।
प्रदेशमा प्राक्टिकल बजेट निर्माणको तयारी भएको प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले बताए । मन्त्री र कर्मचारी जनताको सुविधाका लागि रहेको बताउँदै उनले जनताको आवश्यकता पूरा गर्नका लागि योजना छनोटमा जनता र सरोकारवालाहरुको सहभागिता हुनुपर्ने बताए ।
नीति र कार्यक्रम मन्त्री र कर्मचारीको मात्रै नभएका कारण सरोकारवालासँग छलफल गरेको उनको भनाइ छ ।
प्रतिक्रिया 4