
१५ जेठ, काठमाडौं । गत ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा बालबालिका सम्बन्धी आचारसंहिता उल्लंघनका ११५ वटा उजुरी निर्वाचन आयोगमा दर्ता भएको छ ।
बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजोप) ले गरेको अनुगमनका क्रममा बालबालिका सम्बन्धी आचारसंहिता उल्लंघन गरिएको पाइएपछि आयोगमा उजुरी गरिएको हो ।
अभियानका अध्यक्ष राजेश शर्माका अनुसार चुनावका वेला उल्लंघनका घटना थाहा हुने वित्तिकै तत्कालन आयोगमा उजुरी गरिएका थिए । ती घटनामध्ये ५४ वटा फेसबुक, ३५ वटा टिकटक, अनलाइन सञ्चारमाध्यममा आएका रिपोर्टबाट ७ वटा, युट्युब र इन्स्टाग्रामबाट एक/एक र अन्य घटना स्थलगत रुपमा पाइएको सूचनाको आधारमा उजुरी गरिएको हो ।
‘केही घटना चाहिँ उजुरी हुने वित्तिकै सच्चाइएका पनि छन्’ शर्माले भने, ‘जस्तै, सप्तरीमा चुनावी प्रचारका लागि विद्यालयमा कार्यक्रम भइरहँदा तत्काल जानकारी गराएपछि रोकिएको थियो ।’ चुनावमा गरिएको अनुगमनबारे प्रारम्भिक विवरण सार्वजनिक गर्दै बालकल्याण समितिका पूर्वकार्यकारी निर्देशक तारक धितालले दलगतरुपमा आचारसंहिता उल्लंघनमा नेकपा एमाले अगाडि देखिएको बताए ।
उनले भने, ‘उजुरी गरिएका घटनामध्ये ४२ वटा नेकपा एमाले, ३५ वटा नेपाली कांग्रेस, २० वटा एकीकृत समाजवादी, १५ वटा माओवादी केन्द्र, ६ वटा राप्रपा, २ वटा जनता समाजवादी पार्टी र ६ वटा स्वतन्त्र उम्मेदवारबाट आचारसंहिता उल्लंघन भएका घटना छन् ।’
धितालका अनुसार विगतको तुलनामा यसपटक विद्यालयलाई नै निर्वाचन प्रचारप्रसारमा प्रयोग गर्ने क्रममा कम देखिएको छ । प्रचारप्रसारमा बालबालिकाको प्रयोग चाहिँ अझै कम हुन नसकेको उनले बताए ।
‘चुनाव अघि सबै दलका जिम्मेवार नेताहरुले बालबालिकालाई प्रयोग नगर्ने प्रतिबद्धता जनाएका थिए तर कार्यान्वयन गर्न त्यति ध्यान दिएको देखिएन’ उनले भने, ‘निर्वाचन आयोगले पनि प्रोएक्टिभ्ली काम गर्न सकेन ।’
यसपटक विगतका निर्वाचनमा जस्तो निर्वाचनका लागि सम्पर्क कार्यालय चाहिँ विद्यालयमा नखुलेको उनले बताए । ‘कतिपय स्थानमा मतगणना पनि विद्यालयमा भएका कारण धेरै समयसम्म विद्यालय बन्द भए, यसलाई चाहिँ रोक्न सकिएन’ धितालले भने, ‘यद्यपि, निर्वाचन आयोगले यसलाई बाध्यता भन्दै क्रमशः व्यवस्थित गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।’
प्रतिक्रिया 4