
१५ जेठ, लमजुङ । लमजुङस्थित मध्यपहाडी लोकमार्गमा आज दिउँसो टिपर दुर्घटना हुँदा मृत्यु भई पहिचान खुल्न बाँकी तीनको पनि सनाखत भएको छ ।
मध्यनेपालस्थित भोर्लेटारबाट सोही पालिका–७ तर्फ आउँदै गरेको बा४ख ७७८१ नंको टिपर दुर्घटना हुँदा चालकसहित चार जनाको मृत्यु भएको थियो ।
पहिचान खुल्न बाँकी मृतक गोरखा जिल्लास्थित गोरखा नगरपालिका–१२ का अन्दाजी २४ वर्षीय रवीन्द्र सेडाइँ, तनहुँ व्यास नगरपालिका–७ कलेस्तीका ४५ वर्षीय उत्तम न्यौपाने र सल्यान जिल्ला कमाख गाउँपालिकाका २२ वर्षीय पारस शाहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रेग्मीले बताए ।
टिपर चालक धादिङ जिल्ला गजुरी गाउँपालिका अन्दाजी २७ वर्षीय आकाश घिमिरेको यसअघि नै पहिचान खुलिसकेको थियो । साँघुरो सडक र अधिक भारका कारण दुर्घटना हुँदा टिपर सडकबाट ३० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
मृतकमध्ये तीनजनाको सोही टिपरले च्याप्दा मृत्यु भएको थियो । प्रहरी र स्थानीयवासीले उनीहरुको उद्धार गरेका थिए । सबै जना मध्यनेपालस्थित मध्यपहाडी लोकमार्गमा काम गर्ने मजदुरहरु रहेको प्रहरी निरीक्षक रेग्मीको भनाइ छ ।
मृतक चारजनाकै शवपरीक्षणका लागि छिमेकी जिल्ला तनहुँको दमौली अस्पताल लैजाने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4