
१५ जेठ, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले चुनावी सरकारले आफ्नो प्राथमिकता नबुझेको बताएका छन् ।
यो सरकारको म्याद पाँच महिनाको भए पनि उसले ‘स्वर्ग पुर्याउने’ कुरा बजेटमा गरिएको पौडेलले बताए । ‘पाँच महिना समय बाँकी भएको सरकारले दीर्घकालीन महत्वका योजनाको कुरा गरेको छ । स्वर्ग बनाइदिन्छु भनेर हावादारी कुरा गरेको छ’, पौडेलले अनलाइनखबरसँग भने ।
यो सरकारले चुनावका लागि आवश्यक बजेट र नियमित खर्चको व्यवस्था भन्दा पर सोच्न नहुने उनले बताए । ‘यो सरकारले चुनावका लागि आवश्यक खर्च छुट्याएको छु, चालु आयोजनालाई निरन्तरता दिएको छु । दैनिक प्रशासनिक तर्फ आवश्यक बजेट व्यवस्था गरेको छु भन्नुपर्ने हो’, पूर्वअर्थमन्त्री पौडेलले भने ।
तर प्राथमिकता भुलेर बजेट ल्याएको उनले बताए । ‘मुलुक आर्थिक संकटमा छ । मुलुकलाई आर्थिक लयमा फर्काउने कुरा छोडेर कर्णाली नदी र कोशी नदी जोड्ने हावादारी कुरा गरेको छ’, पौडेलले भने ।
वार्षिक ३० प्रतिशत रोजगारी सिर्जना, ८ प्रतिशत आर्थिक वृद्धिदर जस्ता हावादारी कुरा बजेटमा राखिएको उनले बताए । ‘स्रोत र खर्चको व्यवस्था पनि हचुवा छ । नीति तथा कार्यक्रम र बजेटबीच तालमेल छैन । प्राथमिकता भुलेको छ’, उपाध्यक्ष पौडेलले भने ।
प्रतिक्रिया 4