
१६ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प नभएको बताएका छन् ।
प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आज बसेको बैठकमा बोल्दै पूर्वप्रधानमन्त्री नेपालले सो धारणा राखेका हुन् । सर्वोच्च अदालतले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प खोज्नुपर्ने फैसला गरेपछि आज समितिले छलफल आयोजना गरेको थियो ।
छलफलमा सहभागी नेता नेपालले सर्वोच्चबाट आएको फैसलाबाट स्तब्ध छु भएको बताए । ‘सर्वोच्चबाट जे आयो भनिएको छ म स्तब्ध छु, यो विकासको बाधक हुन्छ,’ उनले भने, ‘विकासको सहयोगी हुनुपर्छ राज्यका कुनै पनि निकाय, विकासको बाधक हुने होइन,’ नेपालले भने ।
उनले त्यहाँको वस्तुस्थितिबारे जानकारी नभइकन बनाउन नहुने भन्ने निर्णय गरिएको टिप्पणी गरे । ‘जुन ठाउँमा सोचिएको छ, त्यहाँ बनाउनु हुँदैन भन्ने निर्णय नै यथार्थ स्थितिको जानकारी नभइकन गरिएको छ,’ उनले भने । ‘म कम्तीमा ६ पटक निजगढ बिमानस्थल निरीक्षणमा पुगेको छु । जंगल भनिएको छ । के त्यहाँ जंगल छ ? जंगल छैन भने वन विनास भैरहेको कसरी छ ?’ उनले प्रश्न गरे ।
‘जहाँ एयरपोर्ट निर्माण हुँदै छ त्यहाँ जंगल छँदै छैन । जुन ठाउँ सोचिएको छ, त्यहाँ बनाउन हुँदैन भनिएको छ त्यो नबुझेर भनिएको हो । अर्को दक्षिण सार्ने भनिएको छ । काठमाडौंको बस्ती उठाएर एयरपोर्ट बनाउने भने जस्तै हो संभव नै छैन,’ उनले थपे ।
पोखराको, भैरहवाको एयरपोर्टले काठमाडौंको विकल्प दिन नसक्ने भन्दै उनले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुपर्ने बताए । निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन ढिला भइसकेको बताउँदै उनले भने, ‘यो ढिला विभिन्न कारणले भएको छ, छिटो अगाडि बढाउनुपर्छ । उपाय खोजिनुपर्छ ।’
प्रतिक्रिया 4