
१६ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले आज पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।
स्वतन्त्र रुपमा चुनाव लडेर मेयर पद जितेका बालेन्द्र साह (बालेन) शपथ ग्रहण समारोह स्थल राष्ट्रिय सभागृहको प्रमुख आकर्षणको केन्द्रमा थिए ।
उनी दौरा सुरुवाल र कालो भादगाउँले टोपी लगाएर शपथ ग्रहण समारोहमा पुगेका थिए ।
उनलाई मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले शपथ ग्रहण गराए । नेपाली भाषामा शपथ ग्रहण गरिसकेपछि बालेनले नेपाल भाषामा पनि शपथको व्यहोरा वाचन गरेका थिए ।
उनका समर्थकहरुले राष्ट्रिय सभागृह खचाखच भरिएको थियो । बालेनको समर्थनमा उनीहरुले नारा लगाएका थिए ।
बालेनले शपथ ग्रहण गरिसकेपछि उनले उपमेयर सुनिता डंगोललाई शपथ ग्रहण गराए । बालेनले नेपाली भाषामा शपथ ग्रहणको व्यहोरा वाचन गरे पनि सुनिताले नेपाल भाषामा शपथ ग्रहण गरिन् । त्यसपछि मेयर साहले वडा अध्यक्ष र सदस्यहरुलाई शपथ ग्रहण गराएका थिए ।
अरु जनप्रतिनिधिहरुलाई प्रमाणपत्र वितरण गर्दै फूलमाला लगाइदिए पनि बालेनले भने माला लगाएनन् । उनी शपथ ग्रहण समारोह औपचारिक समापन नहुँदै राष्ट्रिय सभागृहबाट बाहिरिएका थिए ।
समापन मन्तव्यको क्रममा प्रमुख निर्वाचन अधिकृत खतिवडाले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई दिंदै आगामी दिनमा छिटो निर्वाचन परिणाम सार्वजनिक गर्ने व्यवस्थाबारे सोच्न सुझावसमेत दिए ।
प्रमुख निर्वाचन अधिकृत खतिवडा बोलिरहेको बेला मञ्चबाट बाहिरिएका बालेनले आजै काठमाडौं महानगरपालिकाको आफ्नो कार्यकक्षमा पुगेर कार्यभार सम्हालेका छन् ।
प्रतिक्रिया 4