
१६ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको जनप्रतिनिधिहरुको शपथ ग्रहण कार्यक्रममा मुख्य निर्वाचन अधिकृतले मतगणनामा भएको ढिलाइका बारेमा स्पष्टीकरण दिएका छन् ।
शपथ ग्रहण गराएपछि मुख्य निर्वाचन अधिकृत रहेका काठमाडौं जिल्ला न्यायाधीश राजुप्रसाद खतिवडाले निर्वाचन पद्दती र प्रक्रियाको कारण मतगणनामा ढिला भएको बताए ।
खतिवडाले भने, ‘हामीलाई मतगणनाको क्रममा धेरै प्रश्नहरु आए । कहिले मत सदर हुने, बदर हुने । बाहिर भित्र भीडभाड हुने जस्ता कुराहरुले पनि ढिला भयो ।’
उनले मतगणना गर्दा धेरै लामा कथाहरु बुनिएको व्यङ्ग्यहरुको स्मरण गर्दै प्रतिउत्तर दिए, ‘मतगणना सकिँदा मेयरको दारी फुल्छ, पेटमा भएको बच्चा जन्मेर बोल्न थाल्छ जस्ता कुराहरु आएको थियो, तर मेयरको दारी नफुल्दै मतगणना सकिएको छ ।’
उनले नवनिर्वाचित महानगरका पदाधिकारीहरुलाई आफू निर्वाचित हुने पद्दती र प्रक्रियालाई बदल्नको लागि आवश्यक पहल गर्न पनि आग्रह गरे ।
जिल्ला न्यायाधीश खतिवडाले २१ औं शताब्दीमा पनि भोटिङ मेसिन प्रयोग नगरेकोमा प्रश्न गरे । उनले भोटिङ मेसिन प्रयोग नभए पनि प्रमुख, उपप्रमुख र वडाहरुको छुट्टै मतपत्र बनाउन सुझाव दिए ।
तस्वीर : आर्यन धिमाल/अनलाइनखबर
प्रतिक्रिया 4