
१६ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रदेशसभामा पेश गरेको छ ।
प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशसभा बैठकमा पेश गरेको नीति तथा कार्यक्रमले शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिएको छ ।
प्रदेशलाई शिक्षाको हबको रुपमा विकास गर्दै लैजाने नीति तथा कार्यक्रममा उल्लेख छ । प्रदेश प्रमुख शर्माले प्रदेशभित्रका बाल विकास केन्द्रलाई स्थानीय तह र संघीय सरकारको सहकार्यमा नमूना केन्द्रको रुपमा स्तरोन्नति गर्ने, दलित, अपांग, सीमान्तकृत एवं विपन्न विद्यार्थीलाई विद्यालय शिक्षामा पहुँच वृद्धि गरिने बताए । ‘कोही पनि बालबालिका शिक्षाको पहुँचबाट वञ्चित हुन नपारोस्’ भन्ने योजना अघि सारिएको उनले बताए ।
विद्यालयको भौतिक सुधार गरी आधुनिक पाठ्य सामग्री तयार पारी प्रत्येक जिल्लाको कम्तीमा एक विद्यालयमा नमूना बाल विकास केन्द्र सञ्चालन गरिने उनले बताए ।
गुरुयोजना स्वीकृत भएका आवासीय विद्यालयहरुको भौतिक विकास गर्नुको साथै नमूना विद्यालयमा विकास गुरुयोजना कार्यान्वयन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धिका लागि सूचना प्रविधि प्रयोगशाला, विज्ञान तथा विषयगत प्रयोगशालाहरु स्थापना गरिने प्रदेश प्रमुख शर्माले बताए ।
प्रदेश सरकारले ‘एक विद्यालय, एक नर्स’ कार्यक्रमलाई निरन्तरता दिने भएको छ । प्रदेशभित्रका माध्यमिक तहका विद्यालयहरुमा कार्यक्रमलाई निरन्तरता दिने घोषणा नीति तथा कार्यक्रम मार्फत् गरिएको छ । उच्च शिक्षा पढ्नका लागि ‘छोरी–बुहारीलाई छात्रवृत्ति’ कार्यक्रमलाई निरन्तरता दिने भएको छ ।
‘जनता स्वास्थ्य कार्यक्रम’ अन्तर्गत् विपन्न नागरिकलाई क्यान्सर, हृदयघात, मस्तिष्कघात र अप्स्टेट्रिक, फिष्टुलालगायतका रोगको उपचारमा दिइँदै आएको सहुलियत व्यवस्थालाई थप प्रभावकारी बनाइने उल्लेख छ ।
‘मृगौला रोगीका लागि सञ्चालित निःशुल्क डायलासिस सेवा प्रदेश मातहतका सबै अस्पतालहरूमा विस्तार गरिनेछ’ नीति तथा कार्यक्रममा उल्लेख रहेको छ । हेटौंडा अस्पताललाई दुई सय बेडको अस्पतालमा स्तरोन्नति गरी धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरसँगको सहकार्यमा मृगौला प्रत्यारोपण सेवा गर्ने योजना सरकारले ल्याएको छ ।
सरकारले प्रदेश सञ्चार प्राधिकरण स्थापना गर्ने भएको छ । प्रदेश प्रमुख शर्माले प्रदेशभित्र संचालनमा रहेका संचार गृहहरूको व्यवस्थित सञ्चालन र विकास विस्तारका लागि प्राधिकरण स्थापना गर्ने बताए । त्यस्तै, प्रदेशभित्र सञ्चालित सञ्चार गृहलाई प्रदेशमा दर्ता नवीकरण गर्न प्रोत्साहन गर्ने कार्यक्रम ल्याउने उनले बताए ।
प्रदेश सरकारले ‘एक वडा, एक पशु सेवा कार्यालय’ को स्थापना गर्ने भएको छ । पशु बिमालाई प्रभावकारी बनाउने र संघ तथा स्थानीय तहको समन्वयमा ‘एक वडा, एक पशु सेवा कार्यालय’ को स्थापना गरिने उनले बताए ।
प्रदेश स्तरीय खेलकुद प्रतियोगिता आयोजना गर्ने र रंगशाला निर्माण गर्ने योजना अघि बढाएको उनले बताए । सरकारले अघिल्लो सरकारले ल्याएको सुरुङमार्ग निर्माणको योजना पनि अघि बढाउने तयारी गरेको छ ।
हेर्नुहोस् नीति तथा कार्यक्रमको पूर्णपाठ
प्रतिक्रिया 4