
काठमाडौं । सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/०८० को बजेट स्वागतयोग्य रहेको नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले बताएको छ ।
आयात प्रतिस्थापन गर्ने मुख्य साधनको रुपमा उद्योग स्थापना र उत्पादनलाई उच्च प्राथमिकता दिएको भन्दै नाडाले बजेटलाई स्रहानीय भनेको छ ।
सवारी साधन एसेम्बल उद्योग लगायत इलेक्ट्रिक रिक्सा, मोटरसाइकल र स्कुटर उत्पादनमा लाग्ने पार्टपूर्जा वा कच्चा पदार्थहरुमा १ प्रतिशत मात्र भन्सार महसुल लाग्ने नीति स्वागतयोग्य भएको नाडाले जारी गरेको प्रेश विज्ञप्तिमा उल्लेख छ ।
सरकारले १०० किलोवाट क्षमताका विद्युतीय सवारी साधन, १५०० सीसीसम्मका कम्बसन इन्जिन भएका सवारी साधन लगायत २०० सीसीसम्मका कम्बसन इन्जिन भएका मोटरसाइकललाई आवश्यकताको सवारी साधनको रुपमा लिएको नाडाको बुझाइ छ ।
सरकारले अन्तर्राष्ट्रियस्तरको प्रदर्शनीस्थल निर्माणका लागि बजेटको व्यवस्था गरेको प्रति खुशी व्यक्त गर्दै चाँडै नै प्रदर्शनीहल निर्माण हुने विश्वास व्यक्त गरेको छ ।
बजेटले १०० किलोवाट क्षमताभन्दा बढीका विद्युतीय सवारी साधन तथा २०० सीसीभन्दा माथिका कम्बसन इन्जिन भएका मोटरसाइकलहरुमा गरिएको अन्तःशुल्क तथा भन्सार महसुल वृद्धिले उच्च किलोवाट क्षमता भएका विद्युतीय तथा कम्बसन इन्जिन भएका सवारी साधन व्यवसायीलाई व्यवसाय सञ्चालन गर्न कठिन हुने र व्यवसाय नै बन्द गर्नु पर्ने अवस्था आउने देखिएको भन्दै नाडाले सुधार गर्न सरकारसँग आग्रह गरेको छ ।
बजेटले सवारी साधन खरिद गर्न चाहनेहरुले मात्र अनिवार्य रुपमा पीएएन कार्ड लिएको हुनु पर्ने व्यवस्था न्यायोचित नहुने नाडाको भनाइ छ ।
प्रतिक्रिया 4