
१७ जेठ, सप्तरी । सप्तरीको अग्निसाइर कृष्णासावरण गाउँपालिकाका अध्यक्षले आफ्नो छुट्टै सचिवालय संचालन गर्ने भएको छ ।
गाउँपालिकाको भवन हुँदाहुँदै नवनिर्वाचित अध्यक्ष दिनानाथ चौधरीले छुट्टै सचिवालय संचालन गर्ने भएका हुन् । उनले सचिवालय संचालन गर्नेसम्बन्धी निर्णय पहिलो कार्यपालिका बैठकबाटै गराएका छन् ।
पहिलो कार्यपालिकाको बैठकले ८ वटा निर्णय गरेको छ । जसमध्ये एउटा सचिवालय संचालन गर्ने रहेको छ । गाउँपालिकाको वडा नम्बर १ जण्डौल बजारमा रहेको सामुदायिक भवनमा सचिवालय स्थापना गर्ने निर्णय गरिएको छ ।
सचिवालय स्थापना गर्दा लाग्ने फर्निचर, कम्प्युटर, प्रिन्टरसहितका सबै सामान गाउँपालिकाबाट खरीद गराउने निर्णय सर्वसम्मतिले गरिएको छ ।
चौधरी नेकपा एमालेबाट अध्यक्षमा निर्वाचित भएका छन् । उपाध्यक्षमा भने कांग्रेसले जितेको छ ।
कार्यपालिकाको पहिलो बैठकले अध्यक्ष चौधरीले सिसिटिभी क्यामेराबाट सम्पूर्ण वडाको कामकारबाहीलाई निगरानी गर्ने र त्यसका निम्ति कार्यकक्षमा स्क्रिन जडान गर्ने निर्णय पनि गरेको छ । अध्यक्षकै कार्यकक्षमा पालिकाको एक्स्टेन्सन टेलिफोनसमेत जडान गर्ने निर्णय बैठकले गरेको छ ।
बैठकले हप्ताको एक दिन शनिबार मात्रै बिदा दिने र वडा नम्बर १, ५ र ६ को फोहोर महुली खोला तथा वडा नम्बर २, ३ र ४ को फोहोर अमसोत खोलामा व्यवस्थापन गर्ने निर्णय गरेको छ ।
गाउँपालिकाका ज्येष्ठ नागरिक, सुत्केरी हुने महिला तथा सडक दुर्घटनामा घाइते भएका नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने र एम्बुलेन्स संचालनमा लाग्ने खर्चको भुक्तानी पालिकाबाट छुट्टै योजना बनाई त्यसबाट भुक्तानी दिने निर्णय गरिएको छ ।
प्रतिक्रिया 4