
१७ जेठ, काठमाडौं । पाकिस्तानका लागि नेपाली राजदूत तपस अधिकारीले दुई देशबीच पर्वतारोहणलगायत हिमाली पर्यटनका क्षेत्रमा सहकार्य गर्न सकिने बताएका छन् ।
सगरमाथा दिवसको अवसरमा मंगलबार पाकिस्तानको राजधानी इस्लामावादमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत अधिकारीले दुई देशमा विश्वका अग्ला सगरमाथा र के टू हिमालहरू रहेको र वर्ततारोहीहरूले आरोहण गरेर ख्याति कमाउने गरेको बताए ।
सन् १९५३, मे २९ मा तेन्जिङ शेर्पा र एडमन्ड हिलारीले पहिलोपटक सगरमाथा आरोहण गरेको सम्झनामा इस्लामावादस्थित नेपाली राजदूतावासले विशेष कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा राजदूत अधिकारीले गत १६ मेमा सगरमाथा आरोहण गरेका पाकिस्तानी आरोही अब्दुल जोशीलाई बधाई समेत दिएका थिए ।
अब्दुलको सगरमाथा आरोहणले धेरै युवा पाकिस्तानीहरूलाई पर्वतारोहण र साहसिक पर्यटनका लागि प्रेरित गर्ने तथा दई देशका नागरिकबीचको सम्बन्ध थप विस्तार हुने विश्वास व्यक्त गरे । राजदूत अधिकारीले जलवायु परिवर्तनका कारण हिमालमा परेको असरलाई उजागर गरेर समस्या समाधान लागि सामूहिक रूपमा प्रयत्न गर्नुपर्ने बताए ।
कार्यक्रममा पाकिस्तानी आरोही अब्दुलले आरोहणको अनुभव सुनाएका थिए । उनले ट्रेकिङ र पर्यटनका क्षेत्रमा नेपाल र पाकिस्तानबीच कयौं समानता रहेको बताए ।
प्रतिक्रिया 4