
काठमाडौं । नेपाल टेलिकमले ‘नेपाल टेलिकम’ एपमार्फत थप सुविधा ल्याएको छ । टेलिकमका अनुसार एफटीटीएच सेवाका लागि आवश्यक पोर्टल थप गरिएको छ भने ‘नमस्ते पे’ मार्फत रिचार्ज समेत गर्न सकिने छ । त्यसैगरी केवाईसी अपडेट गर्न, अफलाइन मोडमा पनि विभिन्न सुविधा उपयोग गर्न सकिने विशेषता रहेको टेलिकमले जनाएको छ ।
फाइबर टु द होम अर्थात एफटीटीएच प्रयोगकर्ताहरुले एपमार्फत एफटीटीएचको सीपीई रिस्टार्ट गर्न, वाइफाइको एसएसआईडी परिवर्तन गर्न, डाटाको खपत तथा बचत बारेमा जानकारी लिन र महसुल तिर्न सकिने कम्पनीको भनाइ छ । कम्पनीका अनुसार नमस्ते पे सेवा पहिलो पटक एपमा समावेश गरिएको छ ।
नेपाल टेलिकम एपमा वैयक्तिक जानकारीहरु अपडेट युजर केवाईसीमार्फत नवीकरण गर्न सकिने छ । त्यसैगरी डिलरहरुले एमपोस (एमपीओएस) समेत लगइन गर्न सकिने छ ।
आफ्नो मोबाइल एप ‘नेपाल टेलिकम’लाई समय समयमा परिमार्जन गरी सेवाग्राहीहरुको लागि उपयोगी विशेषताहरु थप गर्दै नयाँ रुपमा प्रस्तुत गर्ने गरेको कम्पनीले बताएको छ । एपमार्फत नेपाल टेलिकमका जीएसएम, सीडीएमए, पीएसटीएन, एडीएसएल, एफटीटीएच लगायतका सेवाहरुको बारेमा जानकारी प्राप्त गर्नुको साथै अन्य विभिन्न सुविधाहरु उपभोग गर्न सकिने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । त्यसैगरी नेपाल टेलिकमले उपलब्ध गराएका विभिन्न प्याकेजहरु खरिद गर्न र प्याकेजको अवस्था वारेमा सहजरुपमा जानकारी प्राप्त गर्न सकिन्छ ।
यसका साथै ब्यालेन्स हेर्न, ब्यालेन्स ट्रान्सफर गर्न, विभिन्न सेवामा रिचार्ज गर्न र आफन्त वा साथीलाई विभिन्न प्याकेजहरु उपहार (गिफ्ट प्याक्स) को रुपमा पठाउन सकिन्छ । त्यसैगरी विभिन्न प्रकारका भ्यालु एडेड सर्भिस (भीएएस) को प्रयोग गर्न, नेपाल टेलिकमका विभिन्न सेवाहरुमा समस्या आएमा गुनासा (कम्प्लेन) टिपाउन र विभिन्न सेवाहरुको बिल तिर्न पनि सकिन्छ ।
कम्पनीको फेसबुक लगायतका सोसल मिडियासमेत यहीँबाट प्रयोग गर्न सकिन्छ । उक्त एपमार्फत कम्पनीले उपलब्ध गराउँदै आएका सम्पूर्ण सेवाहरुको महशुल दरबारे जानकारी लिन पनि सकिन्छ ।
यस एपबाट १००, १०१, १०२ जस्ता इमर्जेन्सी नम्बरहरु डायल गरी आवश्यक सेवा लिनुका साथै १९७, १४९८ आदि नम्बरमा डायल गरी कम्पनीका विभिन्न सेवाका बारेमा सोधपुछ गर्न पनि सकिन्छ ।
यो एपबाट उपलब्ध गराइएका सुविधा उपयोग गर्न शुरुवातमा गुगल प्ले स्टोर तथा एप्पल एप स्टोरबाट ‘नेपाल टेलिकम’ एप डाउनलोड गर्नु पर्दछ । नेपाल टेलिकमको मोबाइल नम्बरमार्फत रजिष्टर गरेपछि एप चलाउन सकिन्छ । पहिलो पटक एप डाउनलोड गर्दा ५ सय एमबी डाटा समेत निःशुल्क प्रयोग गर्न सकिने सुविधा रहेको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया 4