+

फ्रेन्च ओपनको सेमिफाइनलमा पुगे नाडाल

२०७९ जेठ  १८ गते ९:०० २०७९ जेठ १८ गते ९:००
फ्रेन्च ओपनको सेमिफाइनलमा पुगे नाडाल

१८ जेठ, काठमाडौं । लामो समयदेखिको प्रतिस्पर्धी नोभाक जोकोभिचमाथि सनसनीपूर्ण जितका साथ स्पेनिस सुपरस्टार रफायल नाडाल वर्षको दोस्रो ग्राण्डस्लाम टेनिस फ्रेन्च ओपनको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

कीर्तिमानी १४औंपल्ट उपाधि जित्ने लक्ष्यमा रहेका नाडालले आफू फ्रेन्च ओपन इतिहासकै महान खेलाडी भएको पुनः प्रमाणित गरेका छन् । साविक विजेता जोकोभिचमाथि सानदार दबाब राख्दै ६-२, ४-६, ६-२ र ७-६ (७-४)को सेटमा जित हासिल गरे ।

कीर्तिमानी २१ पटकका ग्राण्डस्लाम विजेता नाडालले शुक्रबार फाइनल प्रवेशका लागि तेस्रो वरीयताका अलेक्जेण्डर जेरेभको सामना गर्नेछन् । २५ वर्षीय जर्मन खेलाडी जेरेभले मंगलबार कार्लोस अल्कराजमाथि जित हासिल गरी लगातार दोस्रो वर्ष फाइनलमा पुगेका हुन् ।

‘नोभाकमाथि जित निकाल्नका लागि केवल एउटै बाटो हुन्छ । खेलको सुरुवातदेखि अन्तिमसम्म सर्वश्रेष्ठ प्रदर्शन गर्ने,’ ३५ वर्षीय नाडालले भनेका छन्, ‘यो मेरा लागि त्यही जादुयी रातमध्येको एक हो ।’

पाँचौं वरीयता पाएका नाडालले गत सिजन जोकोभिचसँग सेमिफाइनलमा ब्यहोरेको हारको बदला लिन ४ घण्टाभन्दा बढी समय कोर्टमा खर्चिए । नाडालले रोलान्ड ग्यारोसको क्ले कोर्टमा ११३ खेलमध्ये ११० खेल जितेर सर्वकालीन कीर्तिमान बढाएका छन् ।

विश्व टेनिसमा यो जोडी सबैभन्दा स्थायी प्रतिस्पर्धी हुन् । यी दुईबीच अहिलेसम्म ५९ पटक प्रतिस्पर्धा भएकोमा नाडालले यो जितपछि हेड टू हेडमा ३०-२९ का साथ अग्रता लिएका छन् ।

‘उनी एक महान च्याम्पियन किन हुन् भनेर आज प्रमाणित गरेका छन् । मानसिक रुपमा उनी धेरै बलिया थिए । आज जितको हकदार उनी नै थिए,’ जोकोभिचले भनेका छन्, ‘उनी महत्वपूर्ण क्षणलाई आफ्नो पक्षमा पार्न सफल रहे । उनले राम्रो सुरुवात गरे, मैले त्यसो गर्न सकिनँ ।’

रफायल नाडाल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय