
१८ जेठ, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको कार्यपालिकामा नेकपा एमालेको बहुमत पुगेको छ । नगर प्रमुख र १७ मध्ये ९ वटा वडामा अध्यक्ष जितेको नेपाली कांग्रेस कार्यपालिकामा अल्पमतमा परेको छ ।
बुधबार ८ जना कार्यपालिका सदस्यका लागि भएको निर्वाचनमा सबै सदस्य एमालेले जितेको छ ।
जसअनुसार महिलातर्फ देवकी थारु, राधा शाही, लक्ष्मी घिले, तारा सुनार र सावित्रा पन्थी आचार्य तथा दलित र अल्पसंख्यकबाट सुरेन्द्र बिक, नरबहादुर छन्तेल र रवि सेन्चुरी निर्वाचित भएका छन् ।
एमालेका उम्मेदवारहरुले ४४ मत र नेपाली कांग्रेसका उम्मेदवारहरुले ४२ मत पाएका तथा १ मत बदर भएको निर्वाचन अधिकृत माधवप्रसाद लोहनीले बताए ।
२७ सदस्यीय कार्यपालिकामा एमालेको पक्षमा उपमेयर, ८ जना वडाअध्यक्ष र ८ जना सदस्य गरी १७ जना र मेयर जितेको कांग्रेसको पक्षमा १० जना मात्र भएका छन् । स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस र नेकपा माओवादीबीच गठबन्धन भएको थियो ।
प्रतिक्रिया 4