
काठमाडौं । दुई सातादेखि निर्देशक दीपेन्द्र के खनाल नयाँ फिल्म ‘के घर के डेरा’मा व्यस्त छन् । काठमाडौंको नयाँबजार खुसिबु आसपासमा फिल्मको छायांकन भइरहेको छ ।
बुधबार अपरान्ह अनलाइनखबर टिम त्यहाँ पुग्दा निर्देशक एक्सन-कटमा व्यस्त थिए । अभिनेता दयाहाङ राई चरित्रको हुलियामा अभिनय गर्दै थिए भने कथानुसार डेराको सामान ओसारपोसारको काम भइरहेको थियो ।
हलमा आफू अभिनित फिल्म ‘कबड्डी ४’ले उछाल कमाइरहँदा दयाहाङ भने सुटिङ सेटमा फर्किएका थिए । सेटमा क्याजुअल गफ गर्दै उनले ‘कबड्डी ४’ सफलताका कारणबारे पनि कुरा गर्न भ्याए ।
उनी आफ्नो पार्टको डेरावालको भूमिकामा अभिनय गर्दै थिए । सोही समयमा अर्का अभिनेता रविन्द्र झा समेत व्यस्त देखिए । कान्सबाट फर्किएपछि सुरक्षा पन्त पनि सेटमा ‘ज्वाइन’ भइसकेकी छन् भने विपिन कार्की पनि यसमै छन् ।
ए गुरुङ अर्थात् भँगेरी डनको रुपमा चर्चित अर्जुन गुरुङ पनि सुटिङमा व्यस्त देखिए । कथानुसार उनकै टोल रहेछ त्यो ।
निर्देशक खनाल असार ३ गते रिलिज हुने फिल्म ‘चिसो मान्छे’को प्रचारमा जुट्नुपर्ने बेला ‘के घर के डेरा’को छायांकनमा व्यस्त देखिए । उनलाई यो फिल्मको सुटिङ चाँडै सकेर ‘चिसो मान्छे’को प्रचारमा जुट्ने धपेडी छ ।
निर्देशक खनालका अनुसार काठमाडौंमा घर हुने र नहुनेको कथा हो फिल्म ‘के घर के डेरा’ ।
तस्वीर : शंकर गिरी/अनलाइनखबर
प्रतिक्रिया 4