
काठमाडौं । यस वर्षको हरितारा चलचित्र पुरस्कार अभिनेत्री मिथिला शर्मा र सञ्चारकर्मी विदुर गिरीलाई प्रदान गरिएको छ ।
दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार प्राविधिक मनोज केसी र अभिनेता विनोद श्रेष्ठलाई प्रदान गरियो भने चेतन कार्की स्मृति पुरस्कार भने अभिनेता देशभक्त खनाललाई प्रदान गरिएको छ ।
परिवर्तन नेपालले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेपाल कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले पुरस्कार वितरण गरेका हुन् । हरितारा पुरस्कारको राशी २५ हजार र सम्मानपत्र छ । दुर्गादेवी पुण्य निरौला पुरस्कारको राशी १० हजार र प्रमाणपत्र छ भने चेतन कार्की स्मृति पुरस्कारको राशी ११ हजार रुपैयाँ छ ।
२०५२ सालमा स्थापना गरिएको हरितारा चलचित्र पुरस्कार नेपालको पहिलो चलचित्र पुरस्कार मानिन्छ । स्वर्गीय विजय राणाले स्थापना गरेको उक्त पुरस्कारको संरक्षक र अध्यक्ष मनोजशमशेर राणा र सदस्य सचिवमा चलचित्रकर्मी मोहन निरौला छन् ।
समारोहमा नेपाल चलचित्र पत्रकार संघका अध्यक्ष दिनेश सिटौलालाई परिवर्तन नेपाल पत्रकारिता विशेष सम्मान प्रदान गरियो । फिल्म क्षेत्रमा योगदान पुर्याएबापत निर्देशकहरु मदन घिमिरे, ज्ञानेन्द्र देउजा, लेखक मौनता श्रेष्ठ, अभिनेता राजकुमार शाह, अभिनेता श्रीदेव भट्टराईलाई परिवर्तन नेपाल विशेष सम्मान दिइयो ।
प्रतिक्रिया 4