
२० जेठ, काठमाडौं । नेपाल तयारी पाेशाक उद्योग संघले सरकारले बजेटमार्फत घोषणा गरेको निर्यात अनुदान नीतिले अन्योल सृजना गरिदिएकाे बताएको छ ।
संघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर सरकारले बजेटमार्फत निर्यातमा अनुदान दिने नीतिमा तयारी पाेशाक परे/नपरेको बारे स्पष्ट नभएको जनाएको हाे ।
झण्डै १० लाख राेजगारी सृजना गर्ने र कुनै बेला वार्षिक ४० कराेड डलरसम्मकाे निर्यात गर्ने तयारी पोशाक उद्योगलाई पक्षपातपूर्ण व्यवहार गरेको संघका अध्यक्ष चण्डीप्रसाद अर्यालले बताए । सरकारले बजेटमा गरेकाे घाेषणाकाे दायरामा कार्यविधि मार्फत आफूहरु पनि समेटिनु पर्ने अर्यालले बताए ।
संघका महासचिव अशाेककुमार अग्रवालले सरकारले बजेटमार्फत घाेषणा गरेकाे निर्यातमा ८ प्रतिशत नगद अनुदानकाे सीमामा तयारी पाेशाक नपरेकाे बताए ।
‘विगतमा ३ देखि ५ प्रतिशत नगद अनुदान पाउँदै आएकाे सूचीमा आफूहरुकाे उत्पादन यथावत रहेको तर ८ प्रतिशतबारे बजेट माैन रहेको पाइयाे,’ अग्रवालले भने, ‘अब सरकारले कार्यविधि बनाउँदा हाम्रो उत्पादनलाई पनि समेट्नु पर्छ ।’
बजेटकाे व्यवस्थाबारे उद्योग मन्त्रालय पनि तयारी पाेशाक ८ प्रतिशतकाे सीमामा परे/नपरेको अन्याैलमा परेकाे संघले जनाएको छ ।
प्रतिक्रिया 4