
२० जेठ, काठमाडौं । नेपाल हज समितिले साउदी अरब सरकारले निर्धारण गरे अनुसार हजयात्राका लागि शुल्क निर्धारण गर्दा नेपालमा विगतमा भन्दा महंगो परेको स्वीकार गरेको छ ।
नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँले शुक्रबाार आयोजित पत्रकार सम्मेलनमा साउदी अरब सरकारको निर्णय अनुसार नै यस वर्षको हज यात्राका लागि शुल्क वृद्धि गरिएको बताएका हुन् ।
शुल्क वृद्धि गरेर समितिका पदाधिकारीहरुले अनियमितता गरेको भन्दै आलोचना भइरहेका बेला अध्यक्ष मियले शुल्क वृद्धि हुनुमा आफूहरुको कुनै दोष नरहेको बताए ।
यस वर्ष एक जना हजयात्रीका लागि चार लाख ६३ हजार ३९३ रुपैयाँ शुल्क तोकिएको छ, यसअघि सन् २०१९ मा यो शुल्क दुई लाख २९ हजार ७३१ रुपैयाँ थियो । ‘विगतभन्दा यस वर्ष शुल्क रकम वृद्धि भएको यथार्थ नै हो । शुल्क रकम वृद्धि हुनुको मुख्य कारण साउदी अरव सरकारले निर्धारण गरेको शुल्क रकममा आएको वृद्धि नै हो’ अध्यक्ष मियाले भने ।
मुसलमान समुदायको पवित्र तीर्थस्थल साउदी अरबको मक्कामा हज गर्न जाने तीर्थयात्रीका लागि नेपाल हज समितिले सहभागी छनोट गर्ने, शुल्क निर्धारण गर्ने र साउदी अरबमा हज गराउने प्रबन्ध गर्दै आएको छ ।
समितिले छनौट भएका हजयात्रीहरुलाई तोकिएको शुल्क यही जेठ २३ गते भित्र जम्मा गरिसक्न पनि सचेत गराएको छ । अध्यक्ष मियाँले यस वर्षको हजयात्रीलाई आगामी असार १५ गते भत्र मक्का पुर्याउने गरी तयारी भइरहेको पनि बताए ।
आर्थिक अवस्था कमजोर भएका इस्लाम धर्मावलम्वीहरुले हजयात्रा गर्न कठिनाइ हुने भएकाले ५० प्रतिशत अनुदान उपलब्ध गराउन पनि पहल भइरहेको हज समितिले जनाएको छ ।
प्रतिक्रिया 4