+
+

बरुवा खोलाको बाँध पुनःनिर्माण नहुँदा गाईघाट बजार जोखिममा

उदयपुरको त्रियुगा नगरपालिका–११ बरुवा खोलास्थित ढिम्कीको तटबन्धन समयमा पुनःनिर्माण नहुँदा गाईघाट बजार जोखिममा परेको छ ।

रासस रासस
२०७९ जेठ २२ गते १४:०२

२२ जेठ, गाईघाट । उदयपुरको त्रियुगा नगरपालिका–११ बरुवा खोलास्थित ढिम्कीको तटबन्धन समयमा पुनःनिर्माण नहुँदा गाईघाट बजार जोखिममा परेको छ ।

मर्मतसमेत नहुँदा वर्षायाम सुरु भएसँगै दैनिक वर्षाको कारण खोलाको बहाव बढ्दै जान थालेपछि जिल्लाको सदरमुकाम गाईघाट बजारसहित आसपासका क्षेत्र  जोखिममा परेको हो ।

त्रियुगा–११ नंवर वडास्थित शिवालय टोल, साकेला टोल, ढिम्कीसहित आसपासका बस्ती क्षेत्रमा निर्माण गरिएको पुराना र कच्ची तटबन्धन तथा बाँध बर्षाको कारण भत्कन थालेको छ । अहिलेसम्म पनि यीनको मर्मत तथा पुनःनिर्माणमा कसैले चासो देखाएको पाइदैन ।

वर्षायाम सुरु भएसँगै दैनिक वर्षाको कारण बरुवा खोलाको बहाव निरन्तर बढ्न थालेपछि पुराना कच्ची बाँध तथा तटबन्धन भत्कने खतरा बढ्दै गएको कारण यस क्षेत्र आसपासका स्थानीय चिन्तित भएको ढिम्कीका जगत कार्की बताउँछन् । ‘तटबन्धन पुनःनिर्माण नै गर्नुपर्ने हो, तर मर्मत मात्रै गरिदिए पनि ढुक्क हुनुहुन्थ्यो’, उनले भने ।

बरुवा खोला नियन्त्रणका लागि निर्माण गरिएका पुराना बाँधको ढुङ्गा निस्कँदै बाँध खुल्न थालेको र बाँधको केही भागसमेत भत्कन थालेपछि शिवालय टोल, साकेला टोल र गाईघाट बजार क्षेत्रनै जोखिममा परेको साकेलाका राजकुमार राईले बताए । उनले भने, ‘तत्कालै यो समस्याप्रति सरोकारवालाको ध्यान जान जरुरी छ ।’

अहिले बर्षायाम सुरु हुनै लाग्दा बरुवा खोलामा पानीको बहाव दिनानुदिन बढ्दै जान थालेपछि बाढीले बाँधको पुरानो संरचना खोल्ने र भत्काउने खतरा बढ्दै जान थालेको र केही ढुङ्गा बगाउन थालेपछि बाँध फुट्नसक्ने अवस्थामा पुगेको हो । ‘बाँध फुट्यो भने त बस्ती निकै खतरामा पर्ने छ” शिवालय टोलका दीपिका कार्कीले बताइन् । उनका अनुसार यसअघि पटक–पटक बाँध भत्किँदा स्थानीय विस्थापित हुनुपरेको थियो ।

स्थायी रुपमा बरुवा खोलामा बाँध निर्माण नहुनु र पुराना संरचनामा निर्माण गरिएको बाँध यसभन्दा अघि पनि विसं २०३१, २०३९ र २०५७ सालमा भत्किएको त्रियुगा–११ का युवराज बुढाथोकीले बताए । उनका अनुसार विगतमा तीनपटक बाँध भत्कँदा गाईघाटका धेरै घर डुबानमा पर्दा अधिकांश स्थानीय विस्थापित भएको थिए ।

स्थानीयले स्थायीरुपमा पक्की बाँध निर्माण नर्गदा वर्षेनि बरुवा खोलाको बाँध भत्कदै गएको र खोलाले कटान गर्दै लगेको बताएका छन् । यसवर्ष पनि समयमा बाँध पुनःमर्मत नहुँदा अहिले गाईघाट बजारसहित आसपासका करिब दुई हजारभन्दा बढी घर उच्च जोखिममा परेको सङ्गमटोलका कर्णबहादुर बस्नेतले बताए । उनले भने, ‘सरकारले स्थायी प्रकृतिको बाँध निर्माणप्रति विशेष ध्यान दिनु जरुरी छ ।’

दुई वर्षअघि पनि वर्षा लागेसँगै आएको बाढीले बरुवाको बाँध भत्काउन थालेपछि स्थानीय प्रशासन, नगर कार्यालय, नेपाली सेना, प्रहरीको टोलीले बोरामा बालुवा भरेर भत्किएका बाँध पुनःमर्मत गरेर गाईघाट क्षेत्र सुरक्षित गरिएको थियो ।

बरुवा खोलामा निर्माण गरिएको पुरानो बाँधको तराजाली नै नष्ट भइसकेको, बाँध क्षेत्रका ढुङ्गासमेत हिउँदमा ट्र्याक्टर व्यावसायीले उत्खनन गर्ने गरेपछि वर्सेनि बरुवा नदीले बाँध भत्काउँदै आएको हो ।

स्थानीयवासीले बाँस तथा बालुवामा बोरा राखेर बनाएको अस्थायी तटबन्धन दुई वर्षभन्दा बढी नटिक्ने गरेको गाईघाटका बृद्ध रत्नकुमार श्रेष्ठले बताए । उनले भने, ‘अब बर्षा लागिसक्यो, बाँध मर्मत गर्न पनि समस्या होला, यसप्रति कस्ले ध्यान दिने खै !’ उनले हालै नविनिर्वाचित जनप्रतिनिधिले तत्कालै चासो दिनुपर्ने बताए ।

यसअघि पनि दुईपटक बरुवा खोलाको बाँध फुटेर गाईघाट क्षेत्रमा नदी प्रवेश गर्दा करिव पाँचसय बासिन्दा विस्थापित भइसकेका छन् । यसपटक पनि वर्षा सुरु भैसक्दा तटबन्धन मर्मत एवं पुनःनिर्माणको कामले प्राथमिकता नपाउँदा गाईघाटका स्थानीय निकै त्रासमा बसेका छन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?