+

विश्वकप प्लेअफ फाइनलः इतिहास रच्ने लक्ष्यमा वेल्स र युक्रेन

२०७९ जेठ  २२ गते १४:२७ २०७९ जेठ २२ गते १४:२७
विश्वकप प्लेअफ फाइनलः इतिहास रच्ने लक्ष्यमा वेल्स र युक्रेन

२२ जेठ, काठमाडौं । आइतबार राती कार्डिफमा विश्वकप छनोट प्लेअफ फाइनलमा युक्रेनको आतिथ्य गर्दा वेल्सको जनर इतिहासतर्फ हुनेछ । यो टिम सन् १९५८ यता पहिलोपल्ट विश्वकप खेल्ने लक्ष्यमा छ ।

युद्धग्रस्त अवस्थाबाट अघिल्लो साता प्लेअफ सेमिफाइनलमा स्कटल्याण्डलाई पराजित गरेको युक्रेन अर्को भावनात्मक रुपले प्रेरित खेलमार्फत देशमा अधिक खुसी ल्यउन प्रयासरत हुनेछ । तर, विश्वकपमा प्रवेशका लागि लामो समयदेखिको अड्चन फुकाउन वेल्सले वास्तविक प्रदर्शन गर्नुपर्छ ।

यो खेलको विजेताले आगामी नोभेम्बरमा कतारमा हुने विश्वकपमा इंग्ल्याण्ड, अमेरिका र इरानको समूहमा सामेल हुनेछ । वेल्सका कप्तान ग्यारेथ बेलको भाषामा यो एउटा ‘ठूलो’ खेल हुनेछ ।

‘हामी अहिलेसम्म एकपल्ट मात्र विश्वकपमा पुगेका छौं । शीर्षस्तरमा खेल्नका लागि हामी एक कदम अगाडि बढ्न चाहन्छौं । आफ्नो लक्ष्य पूरा गर्न हामी उत्साहित छौं,’ गेलले भनेका छन्, ‘हामी युक्रेनमा अहिले चलिरहेको भयानक संकट बुझ्न सक्छौं । युक्रेनका बालबालिका र महिलाप्रति सधैं सम्मान छ । यस दौरान हामीलाई नराम्रो लागिरहेको छ र केहि गर्न पनि सकिरहेका छैनौं । तर, हामी फुटबल खेल खेल्न गइरहेका छौं र जित्न चाहन्छौं ।’

वेल्सले ६४ वर्षयता विश्वकप खेल्न पाएको छैनौं । लामो समयसम्म विश्वकप खेल्न नपाउने कीर्तिमानी समयमा बेल्सभन्दा अगाडि इण्डोनेसिया र क्युवामात्र छन् ।सन् १९५८ मा पहिलोपल्ट विश्वकप खेलेपछि वेल्स फुटबल इतिहासमा त्यसयता विश्वकपको सन्निकट पुगेर फर्किनुपरेको उदाहरण धेरै छन् । सन् १९७७ मा स्कटल्याण्ड र सन् १९८५ र १९९३ मा रोमानियाविरुद्ध निर्णायक खेलमा चुक्दा वेल्स विश्वकपबाट टाढा हुँदै गएको थियो ।

तर, अहिले समय फेरिएको छ । यो वेल्सको स्वर्ण युग हो । उसका खेलाडीहरु आफ्नो अतीतको दवावबाट माथि उठ्न चाहन्छन् ।

युरो २०१६ मा छनोट भएर ५८ वर्षको प्रतीक्षा तोडेको वेल्सले फ्रान्समा आयोजित प्रतियोगितामा सेमिफाइनलसम्मको शानदार यात्रा तय गरेको थियो । यसले वेल्स फुटबलले नै नयाँ मानक पाएको थियो । युरो २०२० मा पुनः छनोट गरेर उसले आफ्नो सफलता निरन्तरता दिन सक्यो । तर, विश्वकपमा अर्को स्तरको प्रदर्शनसहित सहभागिता देखाउने समय आएको छ ।

‘यो हाम्रो देशका लागि ठूलो आशा हो ।सबैतिर चर्चा र उत्साह छ । हामी आफैंका लागि पनि एक अविश्वसनीय अवसर हो । मलाई मेरा खेलाडीप्रति भरोसा छ । हामीसँग क्षमतावात खेलाडीका एउटा ठूलो समूह छ,’ प्रशिक्षक रोवर्ट पेजले भनेका छन्, ‘उनीहरुसँग काम गर्न पाउँदा मैले आफूलाई सम्मानित महशुस गरिरहेको छु ।’

यो खेल मार्च महिनाकै लागि निर्धारित थियो । रुसले युक्रेनमा आक्रमण गरेपछि नयाँ मिति निर्धारण गरिएको हो । यो खेलले युक्रेनका लागि पनि इतिहासमा दोस्रोपल्ट विश्वकपमा छनोट गर्ने उपयुक्त अवसर हो । तर, आफ्नो मातृभूमिमा युद्धको कालो बादल मडारिइरहेको स्थितिमा यो खेल युक्रेनी जनताका लागि फुटबलभन्दा माथि हुनेछ ।

तयारीका रुपमा एउटा मात्र मैत्रीपूर्ण खेलपछि अलेक्जेन्डर पेट्राकोभ प्रशिक्षित युक्रेनले प्लेअफ सेमिफाइनलमा अघिल्लो साता स्कटल्याण्डलाई हराउनु असाधारण साहसका साथसाथै एक उच्च भावनात्मक प्रेरणाको प्रतिफल थियो ।

खेलपछि पेट्राकोभको भावनात्मक सम्वोधन र त्यसको एक दिनअघि म्यानचेस्टर सिटीका ओलेक्जान्दर जिन्चेन्कोको भावविह्वल मन्तब्यले उनीहरुको प्रयास र महत्वको मार्मिक चित्रण गरेको थियो ।

‘हाम्रो टिमले सैनिकलाई पत्र लेखेको थियो र जवाफमा एउटा झण्डा मिलेको थियो । जसलाई ड्रेसिङ रुममा झुन्ड्याउन भनिएको थियो,’ पेट्राकोभले शनिबार कार्डिफमा भने, ‘युक्रेन अहिले वास्तवमै कठिन स्थितिमा छ । त्यसै कारण सबैजनाले फुटबल हेर्न पाउने छैनन् । तर हामी राम्रो खेल्ने प्रयासमा ध्यान केन्द्रित गर्नेछौं ।’

ग्लास्गोमा उनीहरुसँग ३५०० युक्रेनी समर्थक थिए । आइतबार कार्डिफमा वेल्स फुटबल संघबाट निशुल्क टिकट दिइएका १०० जना शरणार्थीहरु पनि उपस्थित हुनेछन् । खेल सुरु हुनुभन्दा अगाडि घरेलु समर्थकले एउटा प्रदर्शनी पनि पस्तुत गर्नेछन् ।

वेल्स प्रशिक्षक पेजले आफ्नो टिमका सबै खेलाडी फिट रहेको बताएका छन् । बुधबार नेशन्स लिगमा पोल्याण्डविरुद्ध आराम दिइएका पहिलो रोजाईका खेलाडी यस खेलमा समावेश हुनेछन् । सम्भवतः मार्चमा सम्पन्न प्लेअफ सेमिफाइनलमा अष्ट्रियालाई हराउने टिमले नै निरन्तरता पाउनेछ ।

यसको मतलव अस्ट्रियामाथि २–१ को जितका क्रममा दुवै गोल गरेका ग्यारेथ बेल, युभेन्टसका स्ट्राइकर आरोन राम्सेले युक्रेनविरुद्ध टिममा स्थान बनाउनेछन् ।

युक्रेन वेल्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय