
काठमाडौं । कलाकारलाई तीज पर्वको चटारो अहिल्यैदेखि सुरु भएको छ । तीज आउन तीन महिना बाँकी रहँदा कलाकारहरु गीतको तयारीमा लागिसकेका छन् ।
यस वर्षको तीज भदौ १४ गते परेको छ । केही गायक-गायिकाले तीज गीतको रेकर्डिङ थालेका छन् । मञ्जु पौडेल, राधिका हमाल लगायतका कलाकारले गीत रेकर्ड थालिसकेका छन् ।
हमालले तीनवटा तीजगीत रेकर्ड गरेकी छन् । उनी आफ्नै गीतसहित केही अन्य कम्पनीको गीत रेकर्डको तयारीमा समेत जुटेकी छन् । एक हिसाबले कलाकारका लागि तीज आम्दानीको राम्रो अवसर समेत हो । अनामनगरस्थित हमालको आफ्नो रेकर्डिङ स्टुडियो म्युजिक बैंक नेपालमा समेत गीत रेकर्ड कार्य सुरु भएको छ । पौडेलले एउटा गीत रेकर्ड गराइसकेकी छन् ।
गायक खेम सेन्चुरीले आधा दर्जन गीत रेकर्ड गराइसकेको जानकारी दिए । उनी रेकर्ड भएका गीतको भिडियो निर्माण सुरु भएको बताउँछन् । तीज गीतमा निकै चर्चित स्मृति तिमिल्सिना ‘गुरुआमा’ले पनि तीजको म्युजिक भिडियो निर्माण सुरु हुने तर्खरमा रहेको बताइन् ।
रेकर्ड भएका सबै गीतलाई असार १५ गतेपछि रिलिज गर्न राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले आग्रह गरेको छ । असार १५ अघि गीत नल्याउन संस्थाको आग्रह छ । प्रतिष्ठानका अध्यक्ष रमेश बीजीले संस्कृतिलाई बिगार्ने खालका गीत नल्याउन आग्रह गरे । ‘संस्कृतिमैत्री गीत आउनुपर्छ भन्नेमा हाम्रो जोड रहन्छ,’ बीजीले अनलाइनखबरसँग भने, ‘अर्कोतर्फ हामीले असार १५ गतेपछि मात्र गीत ल्याउन आग्रह गरेका छौं ।’
कोरोना महामारीका कारण अघिल्ला दुई वर्षमा रोकिएका तीज र स्टेज कार्यक्रम यसपटक आयोजना हुने तयारीमा छन् । गायक पशुपति शर्माले यसपटकको तीजमा जापान र अष्ट्रेलियामा आफ्ना कार्यक्रम निश्चित भएको जानकारी दिएका छन् ।
विदेशस्थित कार्यक्रमलाई पनि ध्यानमा राख्दै अहिल्यैदेखि कलाकार गीत तयार पार्न जुटेका हुन् ।
प्रतिक्रिया 4