२२ जेठ, काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गत अमेरिका र ओमानसँगको शृंखलाका लागि अमेरिका भ्रमणमा रहेको नेपाली टिमका दुवै ओपनर चोटग्रस्त भएका छन् ।
कुशल भुर्तेल र आसिफ शेख अभ्यास र अभ्यासखेलका क्रममा चोटग्रस्त भएको नेपाल क्रिकेट संघका सचिव प्रशान्तविक्रम मल्लले जानकारी दिए ।
नेपाल टिमका नियमित विकेटकिपरसमेत रहेका आसिफको नेपाल अलस्टारविरुद्दको खेलअघि अभ्यासको क्रममा घुँडामा चोट लागेको थियो । उनी शनिबार भएको नेपाल र ह्यूस्टन हुरिकेन्सबीचको खेलमा टिममा थिएनन् ।
कुशललाई सोही खेलमा फिल्डिङका क्रममा ह्याम्स्ट्रिङ समस्या भएको मल्लले जानकारी दिए । ‘आसिफको घुँडाको सिटी स्क्यान र एमआरआई भइसकेको छ । विस्तृत रिपोर्ट आएपछि खेल्न सक्ने-नसक्ने थाहा लाग्छ,’ मल्लले अनलाइनखबरसँग भने ।
विश्वकप लिग टू अन्तर्गतको शृंखला जेठ २६ देखि सुरु हुँदैछ । नेपालले जेठ २६ गते ओमान, २८ गते अमेरिका, ३१ गते ओमान र असार १ गते अमेरिकाविरुद्द खेल्दैछ ।
१५ जना खेलाडीसहित अमेरिका पुगेको नेपाल टिम दुई मुख्य खेलाडी चोटग्रस्त बनेपछि अप्ठेरोमा परेको छ । दुवैले खेल्न नसक्ने भएमा के गर्ने भन्नेबारे क्यानले छिट्टै निर्णय गर्ने कार्यवाहक सचिव मल्लले जानकारी दिए ।
नेपाल टिमः सन्दीप लामिछाने (कप्तान), रोहितकुमार पौडेल (उपकप्तान), कुशल भुर्तेल, दीपेन्द्र सिंह ऐरी, आसिफ शेख, आरिफ शेख, विनोद भण्डारी, सुनील धमला, देव खनाल, आदिल अन्सारी, करण केसी, सोमपाल कामी, सुशान भारी, सागर ढकाल र किशोर महतो ।
प्रतिक्रिया 4