
एक तीर्थयात्रामा निस्केको विमान
आकाशमा उड्दा,
धरतीबासीहरु,
घरबाहिर निस्कँदै,
साना बच्चासँग जिस्कँदै,
भनिरहेथे
यस्तो पो बन्नुपर्छ पाइलट
जसले हरेकका सपनामाथि विमान चलाउन सकोस् ।
मुसुक्क मुस्काउँदै
मख्ख पार्दै,
ती घिमिरे र पोखरेल बाबु
घोत्लिरहेथे त्यो विमानतिर
अनि झुकाउँथे
शिर शहीद दिवसमा झैं
किताबका पानाहरूमा ।
आँखाहरु दौडिरहेथे,
उड्ने बेलाको विमानका पाङ्ग्राहरु झैं,
कान उडिरहेथे
भावना र महत्वाकांक्षाको कम्पासले
देखाएको बाटोमा ।
ती तीर्थालुहरू,
बैंसालुहरु,
बादलमाथि लिइरहेको चकलेटको स्वाद,
सपनाभन्दा मीठो थियो
र त,
अहिले भान्सामा पाकिरहेछन्
नुनिला आँसुमा
बेस्वादका परिकारहरू ।
सिट बेल्टमा बाँधिएका ती यात्रुहरू,
बाँधिंदैछन्,
अहिले गल्तीको कात्रोमा ।
बादलपारिको देशको खबर
बेखबर छ
र त,
कविहरु जागेका छन्
खबर पाउने आशमा ।
के भन्दा हुन् ती पाइलट ?
है
विचरा, ती शोकमा डुबेकाहरुलाई
आमाको कोखबाट पहिलोपल्ट
धरतीमा ठोकिंदा,
ठोकाइबाट जीवन बाँच्न सिकेका
र
ठोकाइमै जीवन सकेकाहरुलाई
त्यो थोत्रो विमान के भन्दो हो ?
ब्रह्माण्ड ठोकाइबारे बोल्ने,
बिग ब्याङ थिओरी
कृपया भनिदेऊ न केही
ती विमान दुर्घटनामा आफन्त गुमाएकाहरुलाई ।
गल्ती नै जीवनको मूल शिक्षा हो भन्ने
ए दार्शनिक मित्रहरु,
बुझाइदेऊ न
के सिके गल्तीबाट ती निर्दोष यात्रुहरुले ?
एकचोटि न हो भनी माफ गरिदिने हरेकलाई,
हे ईश्वर,
पटकपटक फेरि दोहोरिएको गल्तीमा एकपटक माफी गरीदिन मिल्दैन ?
ईश्वर – मिल्दैन ।
किनकि
उसका थोत्रा विमानका,
पुरातन शैलीहरूमा
यसरी नै फेरि पुराना विमानमा नयाँ माफी चढ्यो भने ?
प्रतिक्रिया 4