
२३ जेठ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले इम्बोस्ड प्लेट जडानमा जबरजस्ती नगर्न माग गरेका छन् । उनले पूर्वाधार तयार नगरी नागरिकलाई धम्कीको भाषामा जारी गरिएको सूचना खारेज गर्न माग गरेका हुन् ।
संसदमा विशेष समयमा बोल्दै थापाले इम्बोस्ड नम्बर प्लेटबारेका व्यवस्थाहरु सच्याउनुपर्नेमा सरकारले सजिलो तर, गलत बाटो लिएको टिप्पणी गरे । गण्डकी र बाग्मती प्रदेशमा साउन १ दखि इम्बोस्ड नम्बर प्लेट नलगाए कारवाही हुने भन्दै शुक्रबार यातायात व्यवस्था विभागले सूचना जारी गरेको थियो ।
मन्त्री थापाले सरकारले राजपत्रमा सूचना प्रकाशित गरेर मंसिरबाटै इम्बोस्ड नम्बर प्लेट जडानको लागि तालिका बनाए पनि अहिलेसम्म सबै यातायात कार्यालयमा काम नै सुरु नभएको बताए ।
‘प्लेट जडानको काम सुरु नभएकोमा ताकेता कार्यालयमा गर्ने कि नागरिकलाई तर्साउने ?’ थापाले प्रश्न गरे ।
ठेकदार कम्पनीसँगको सम्झौताअनुसार १६ महनाभित्रै यो जडानको काम टुंग्याइनुपर्ने अवस्था रहेको भन्दै उनले प्लेट जडानको काम नसकिए सरकारले आर्थिक दायित्व बेहोर्नुपर्ने अवस्था रहेको स्मरण गराए ।
‘सरकारले भनेको काम भनेको समयमा नगर्ने, अनि आफूले कमी कमजोरी गरेर नागरिकलाई दुःख सजाय दिने ? थापाले प्रश्न गरे,’अबको १५ महिनामा २५ लाख सवारीमा इम्बोस्ड जोड्ने भनिएको छ, दिनको ५ हजारमा इम्बोस्ड जोड्नुपर्छ, कसरी सम्भव छ, २-३ वटा कार्यालयबाट ?’
इम्बोस्ड नम्बर प्लेट महँगो भएको, गुणस्तर नभएको भनेर नागरिकले गुनासो गरिरहेको भन्दै थापाले खाल्डाखुल्डी भएको रोडमा प्लेट नै खसिरहेको बताए ।
‘आवश्यक छ, तर, त्यसको कार्यान्वयन प्रभावकारी हनुपर्छ,’ महामन्त्री थापाले भने,’नागरिकको प्रश्न ठेकदार कम्पनी र ऊसँग भएको सम्झौतामथिमा पनि छ, प्लेटमा देवनागरीमा बंगलादेशले लेख्यो भने नेपालमा किन सम्भव भएन ?’
उनले सरकारले नामाकरण भएका प्रदेशमा यो प्लेट लागू गर्न भनिए पनि बाग्मती र गण्डकी बाहेकका प्रदेशमा अत्तोपत्तो नभएको बताए । भारतसँग तुलना गर्दा ५-६ गुणा बढी शुल्क लिइएकोमा पनि कांग्रेस महामन्त्री थापाले असन्तुष्टि पोखे । इम्बोस्डले राष्ट्रिय सुरक्षाका लागि मद्दत गर्छ भने राज्यको पनि जिम्मेवारी हुने उनको भनाइ छ ।
‘साउन १ गतेभित्र जडान नगर्ने भए देखाइदिन्छु भनेर दिइएको धम्कीको यो भाषा खारेज गर्नुपर्छ,’ उनले भने,’इम्बोस्स्ड प्लेटका व्यवस्थाहरु तत्काल पुनरावलोकन गरियोस्, पूर्वाधार र जनशक्ति थपियोस्, गुणस्तरीय बनाइयोस्, जबरजस्ती नगरियोस्, नागरिकले अवज्ञा गर्छन्, त्यतिबला सरकारको मुख रातो हुन्छ ।’
भिडियो हेर्नुस्
प्रतिक्रिया 4