
काठमाडौं । आमनागरिकले वित्तीय साक्षरतासँगै डिजिटल साक्षरताबारे पनि जानकारी पाउनुपर्ने सरोकारवालाहरुले बताएका छन् । बैंकिङ शिक्षा र नविल बैंकसँगको सहकार्यमा गत साता लुम्बिनी प्रदेशको बुटवलस्थित लुम्बिनी इन्जिनियरिङ कलेजमा आयोजित वित्तीय साक्षरता कार्यक्रममा सरोकारवालाहरुले यस्तो बताएका हुन् ।
कार्यक्रममा उद्योग वाणिज्य संघ तिलोत्तमाका अध्यक्ष गुणनीधि अधिकारीले वित्तीय साक्षरता अभिवृद्धिमा सबैले सहकार्य गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका सहायक निर्देशक प्रकाश राइले समाजलाई ‘लेस क्यास’ हुँदै ‘क्यासलेस’ बनाउने योजना राष्ट्र बैंकको रहेकाले त्यसका लागि डिजिटल उपकरणहरुको प्रयोग गर्न प्रोत्साहन गरे । वार्षिक १ अर्ब भन्दा बढी रकम नोट छपाइमा मात्र खर्च हुने गरेकाले त्यसको मात्र नभई सबैको समय र पैसाको बचतका लागि पनि डिजिटल माध्यमको प्रयोग गर्नुपर्ने आवश्यक रहेको उनको भनाइ थियो ।
कार्यक्रममा रुपन्देहीका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले डिजिटल कारोबारले धेरै सहजता ल्याउने भएकाले यसको प्रयोगमा सबैलाई आकर्षित गर्नुपर्नेमा जोड दिए ।
नविल बैंकका लुम्बिनी प्रदेश प्रमुख कृष्ण थापाले पनि वित्तीय रुपमा साक्षर हुँदा धेरै फाइदाहरु हुने भन्दै सबैलाई वित्तीय रुपमा साक्षर बनाउनुपर्नेमा जोड दिए । वित्तीय साक्षरताले बचत संस्कारको समेत विकास गर्ने उनको भनाइ छ ।
लुम्बिनी ईन्जिनयरिङ कलेजका निर्देशक तुलसीप्रसाद सापकोटाले डिजिटल माध्यमहरुको प्रयोग गर्न जान्दा पैसा र समयको बचत हुने बताए ।
वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्धेश्यले सञ्चालित बैंकिङ शिक्षा कार्यक्रम हरेक साता बुधबार हिमालय टेलिभिजनबाट प्रशारण हुँदै आएको छ । यो कार्यक्रम नेपाल राष्ट्र बैंकको फाइनान्सीय लिटरेसी फेर्म वर्क २०२२ अनुरुप वित्तीय साक्षरता अभिवृद्धिमा केन्द्रित रहेको छ ।
प्रतिक्रिया 4