
२४ जेठ । २००४ सालमा झापाको अर्जुनधारामा जन्मिएका अमर कार्की २५ वर्षको उमेरमा कम्युनिस्ट बनेर सशस्त्र विद्रोहमा सरिक भए । २०२८ सालताका पञ्चायती राज्यसत्तालाई हल्लाएको त्यो झापा विद्रोहवापत उनले १८ वर्ष जेल सजाय भोगे । ७५ वर्षे उमेरमा अहिले उनी किसानीमै छन्, तर झापामा नभएर चितवनमा ।
‘जेलबाट छुटेपछि करिब दुई वर्ष झापा गएर बसें, तर पटक्कै मन रमाएन’ खैरहनी नपा-३, चितवनवासी कार्की भन्छन्, ‘अनि ससुरालीले दिएको जग्गामा सानो घर बनाएर २०५० सालमा यतै सरें ।’
ससुरालीले दिएको जग्गामध्ये दुई कठ्ठा उनले दुई छोरी र एक छोराको पढाइ उतार्न बेचे । बाँकी ४ कठ्ठामा उनको घर, खेती, बाख्रा गोठ सबै अटेको छ । कार्कीले बीचको २० वर्ष क्यान्सर अस्पतालको मेन्टिनेन्स विभागमा पनि काम गरे- २०५४ देखि २०६४ सम्म ज्यालादारी र त्यसपछि करारमा ।
उनीसँग धेरै गुनासा छैनन् । पार्टीसँगको सम्पर्क पनि टुटाएका छैनन् । बरु शारीरिक कमजोरी बढ्दै र स्मरणशक्ति घट्दै जानु उनको लागि समस्या बनेको छ । मानसपटलमा स्मृतिहरू धुमिल बन्दै गए पनि पुराना दिनहरूको चर्चा गर्दा उनी उत्साही बन्छन् ।
दिउँसो फुर्सदमा गाउँतिर पार्टीका साथीहरूसँग राजनीतिक गफ गर्न पाउँदा उनलाई आनन्द लाग्छ । उनलाई नेकपा -एमाले), चितवनले सल्लाहकार सदस्यमा राखेको छ ।
‘कहिलेकाहीं पार्टीले बोलाउँदा उता पनि जान्छु’ कार्की भन्छन्, ‘त्यस्तो बेला समसामयिक राजनीतिबारे छलफल गर्न पाइन्छ ।’
विद्रोह र जेलको यात्रा
२०२८ सालतिर झापामा कम्युनिस्टहरूले किसान विद्रोह चर्काएका थिए । त्यस्तैमा एक दिन गाउँका जमिनदारले अमर कार्कीलाई बिनासित्तिमा ‘ठुटे नेता बनेको’ भन्दै थर्काए ।
त्यसो त, उनी पनि ‘बर्खे बाली मोहीको, हिउँदे मात्र अँधिया’ भन्ने अभियानमा लागिसकेका थिए । जमिनदारको वचनबाणले उनको मनमा ज्वारभाटा उठायो ।
‘अनि चिनजानका डम्बर बानियाँ र शिव शिवाकोटीलाई भेटेर आफ्नो कुरा राखें, उनीहरूले नेत्र घिमिरेको सम्पर्कमा पुर्याए’ कार्की सम्झन्छन्, ‘त्यसको केही दिनमा नै म पनि भूमिगत भएँ ।’
उनी २०२९ पुस १२ गते घिमिरेसँगै एकैपटक पक्राउ परेर चन्द्रगढी जेलमा कोचिए । फागुन २१ गते राति जेल सार्ने बहानामा घिमिरेसँगै रामनाथ दाहाल, नारायण श्रेष्ठ, कृष्ण कुइँकेल, वीरेन राजवंशीलाई सुखानीको जंगलमा लगेर हत्या गरियो ।
‘पञ्चायती व्यवस्थाले सँगै जेलमा रहेका हाम्रो नेताहरूलाई मारे’, कार्की भन्छन्, ‘मानकुमार गौतम, म लगायतलाई काराबासको सजाय सुनायो ।’
कार्कीसहित ७ जनालाई २०३१ सालमा वीरगञ्ज जेल सारियो । वीरगञ्जमा अरू ७ जना थपेर १४ जनालाई काठमाडौंको सेन्ट्रल जेल लगियो । त्यहाँ ६ दिन राखेर नक्खु कारागार लगियो ।
‘नक्खुबाट २३ महिनामा भद्रगोल चलान भएपछि रौतहटमा समातिएका नेताहरू मोहनचन्द्र अधिकारी र केपी ओलीसँग भेट भयो’ कार्की भन्छन्, ‘केपीलाई गोलघरमा राखिएको थियो ।’
जीवनको ऊर्जाशील १८ वर्ष जेलमा बिताएका कार्कीका अनुसार, २०३६ सालसम्म त कुन बेला, के निहुँमा, कहाँ लगेर मार्छ भन्ने कुराले सताउँथ्यो ।
त्यसको १० वर्षपछि २०४६ पुस १९ गते कार्कीसहित १३ जना राजबन्दीलाई रिहा गर्यो । उनीहरूलाई नेपाली कांग्रेसका नेता गणेशमान सिंहले ठमेलको चाक्सीबारीस्थित आफ्नो घरमा बोलाएर अब जनआन्दोलनमा लाग्न भने ।
‘अनि माघ ४ गते झापा फर्किएर जनआन्दोलनमा लागियो’ कार्की भन्छन्, ‘पार्टीले बुधवारे गाउँ कमिटी अध्यक्ष र अखिल नेपाल किसान महासंघको पनि उपाध्यक्ष बनाएको थियो, तर किन-किन त्यता बस्न मन मानेन ।’
उनी हरेक वर्ष फागुन २१ गते शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्न सुखानी पुग्ने गरेका छन् । यसपटक भने बिरामी भएर जान नसकेकोमा उनलाई दुःख लागेको छ ।
प्रतिक्रिया 4