
२४ जेठ, काठमाडौं । नेपालमा पाँच तारे र सो स्तरभन्दा माथिको होटल संख्या १८ पुगेको छ । पर्यटन विभागले सार्वजनिक गरेको नयाँ वर्गीकरण अनुसार पाँचतारे डिलक्स होटलको स्तरमा एक र पाँच तारे स्तरको होटल संख्या १७ पुगेको छ ।
पर्यटन विभागका अनुसार झापाको धुलाबारीमा सञ्चालनमा आएको भेगस सिटी इन्टरटेन्मेन्ट प्रालिको होटल मेची क्राउन प्लाजा पाँच तारा डिलक्स होटलको स्तरमा सूचीकृत भएको छ । कुल १०१ कोठा रहेको यो होटलमा १८५ वटा शय्या छन् । होटलले ११० जनालाई प्रत्यक्ष रोजगारी दिएको छ ।
पाँचतारे स्तरका १७ वटा होटलमा २ हजा ७७६ वटा कोठा रहेका छन् । यी होटलले एक साथ ४ हजार १६० जना पाहुनालाई सेवा दिन सक्छन् । नेपालमा रहेका कुल पाँचतारे होटलले ३ हजार ८६८ जनालाई प्रत्यक्ष रोजगारी दिएको देखिएको छ ।
पर्यटन विभागका अनुसार पछिल्लो समय झापाको विर्तामोडमा खुलेको होटल द किङ्सवरी र काठमाडौंको ताहाचलमा खुलेको सिटी होटल लिमिटेड (हायात प्लेस) ले पाँचतारे स्तरको वर्गीकरण पाएका छन् ।
पाँचतारे होटलमध्ये बढी रोजगारी सिर्जना गर्नेमा सोल्टी होटल र तारागाउँ रिजेन्सी (हायात रिजेन्सी) रहेका छन् । यी दुई होटलले क्रमशः ५५० र ४१० जनालाई रोजगारी दिएको देखिएको छ ।
यी हुन् नेपालका पाँचतारे होटल
होटल | कोठा | शय्या | रोजगारी |
होटल सोल्टी (ताहाचल) | २८२ | ४३४ | ५५० |
होटल डेला अन्नपूर्ण (दरवारमार्ग) | १५३ | २३० | ३४४ |
द होटल एभरेष्ट इन्टरनेशनल (नयाँ बानेश्वर) | १६० | २८० | |
पोखरा ग्राण्ड होटल | १४० | २४७ | १७३ |
होटल द फूलबारी (पोखरा) (बन्द अवस्थामा रहेको) | १६५ | २०० | |
ओरियन्टल होटल्स लिमिटेड (र्याडिसन) लाजिम्पाट | २६० | ३५० | ४०० |
तारागाउँ रिजेन्सी होटल (हायात रिजेन्सी) बौद्ध | २९० | ४२६ | ४१० |
याक एण्ड यति (दरवारमार्ग) | २४७ | ३५० | ३०५ |
द मल्ल होटल (लैनचौर) | १०० | १६३ | १५३ |
होटल सांग्रिला, लाजिम्पाट | १०० | १६९ | २१० |
टाइगरवान प्रालि, रुपन्देही | १०२ | १४६ | २०२ |
सोल्टी वेस्टेण्ड लिमिटेड, नेपालगन्ज | ८० | ९९ | ८० |
होटल सेन्ट्रल प्लाजा, बाँके | ८० | ९९ | ७० |
होटल मेरियट, नक्साल | २१५ | ३४४ | ३०० |
होटल अलफ्, ठमेल | १६७ | २१६ | १८० |
होटल द किङ्सबरी, झापा | ८२ | १०० | १५० |
सिटी होटल लिमिटेड (हायात प्लेस) ताहाचल | १५३ | ३०६ | १८६ |
कुल | २७७६ | ४१६० | ३८६८ |
स्रोत : पर्यटन विभाग
कसरी हुन्छ वर्गीकरण ?
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ५ माघ २०७७ मा राजपत्रमा एक सूचना जारी गर्दै एकतारेदेखि पाँच तारे डिलक्ससम्मका होटलको वर्गिकरणका लागि मापदण्ड तोकेको थियो । सो मापदण्ड पूरा गर्ने होटलले स्तर अनुसार तारा पाउँछन् । होटल रहने क्षेत्रफलदेखि संरचना सहितको अनुगमनपछि विभागले स्तर निर्धारण गर्छ ।
हेरिटेज र बुटिकको छुट्टै वर्गीकरण
पर्यटन विभागले हेरिटेज र बुटिक होटलको वर्गीकरण भने छुट्टै गरेको छ । विभागका अनुसार नेपालमा यस्तो वर्गीकरणमा कुल ४ वटा होटल अटाएका छन् । खासगरी मौलिक डिजाइनमा बनेको संरचनाका होटललाई यस्तो वर्गीकरणमा राखेर अलग्गै सूचीकरण गर्न थालेको हो ।
विभागका अनुसार काठमाडौंको बत्तिसपुतलीस्थित द्वारिकाज काठमाडौं भिलेज होटल यो सूचीमा रहेको छ । कुल १३७ कोठा रहेको होटलमा २७४ शय्या छन् । द्वारिकाजले ३०५ जनालाई रोजगारी दिएको छ ।
नेपालमा हेरिटेज र बुटिक होटलले कुल ३३९ कोठा छन् । यी कोठामा ५५४ शय्या रहेका छन् । हेरिटेज र बुटिक होटलले ४९८ जनालाई प्रत्यक्ष रोजगारी दिएका छन् ।
हेरिटेज र बुटिक होटलमा कुन कुन परे ?
होटल | कोठा | शैया | रोजगारी |
द्वारिकाज काठमाडौं भिलेज होटल, बत्तिसपुतली | १३७ | २७४ | ३०५ |
इमिरो प्लाजा प्राली (बसेरा बुटिक होटल), बबरमहल | ६० | ८५ | १०० |
पबेरा बुटिक होटल, बुढानिलकण्ठ | ६२ | ९६ | २५ |
होटल मनास्लु, लाजिम्पाट | ८० | ९९ | ६८ |
कुल | ३३९ | ५५४ | ४९८ |
स्रोत : पर्यटन विभाग
यसअघि विभागले रिसोर्टको वर्गीकरण सार्वजनिक गरेको थियो । रिसोर्टमध्ये चन्द्रागिरिस्थित चन्द्रागिरि हिल्स रिसोर्ट र गोकर्णस्थित गोकर्ण फरेष्ट रिसोर्ट ‘लक्जरी रिर्सोट’को स्तरमा कायम गरिएको छ । विभागका अनुसार देशभर तीन वटा रिसोर्टले डिलक्स रिसोर्टमा वर्गीकृत भएका छन् ।
विभागका अनुसार बनेपास्थित आगन्तुक रिसोर्टले २०७७ सालमा डिलक्स मान्यता पाएको थियो । पछिल्लो पटक २०७८ साल चैतमा सरकारले कास्कीको बरपिपल रिसोर्ट र कपिलवस्तुको लुम्बिनी ग्रीन रिसोर्टलाई डिलक्स रिसोर्टमा सूचिकरण गरेको हो । देशभर सञ्चालनमा रहेका १ सय ९ वटा रिर्सोटलाई साधारण रिसोर्टको सूचीमा राखिएको छ ।
प्रतिक्रिया 4