
२४ जेठ, गोरखा। गोरखाका दुई पालिकामा भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको लगत संकलनको काम सुरु भएको छ ।
यसअघि लगत संकलनमा छुटेकाका लागि जिल्लाको बारपाक सुलिकोट गाउँपालिका र शहीद लखन गाउँपालिकाले पुनः लगत संकलनका लागि निवदेन लिने कार्यको थालनी गरेको आयोगका जिल्ला अध्यक्ष कमला नहर्कीले जानकारी दिए ।
‘स्थानीय तहको निर्वाचनका कारण गएको वैशाख ९ गतेदेखि यी दुई पालिकामा लगत संकलनको काम रोकिएको थियो’, उनले भने, ‘रोकिएको काम पुनः सोमबारेदेखि सुरु गरिएको छ ।’
बारपाक सुलिकोट गाउँपालिका र सहिद लखन गाउँपालिकामा स्थानीय तहको निर्वाचनका लागि रोकिएको लगत सङ्कलनको कामलाई निरन्तरता दिएको उनले बताए ।
उनका अनुसार तत्कालीन भूमिसम्बन्धी समस्या समाधान आयोगमा परेका निवेदन बाहेक छुटपुट भएकाको लागि आयोगले दोस्रो पटक सूचना प्रकाशन गरेर निवदेन आह्वान गरेको हो ।
आयोगले सुकुम्वासी, दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबास भएकाहरुका लागि फरक-फरक फारमको ब्यवस्था गरेको छ ।
आयोगले उपलब्ध गराएको फरक फरक ढाँचाको फारम सहितको विवरण भरेर वडा कार्यालयले संकलन गरी स्थानीय पालिकामा पठाउनेछ ।
पालिकाले निवेदन प्रमाणित गरी आयोगमा पठाउने व्यवस्था रहेको अध्यक्ष नहर्कीले जानकारी दिए । यसका लागि कर्मचारी व्यवस्थापनको काम सम्बन्धित पालिकाले गर्दै आएको उनको भनाइ छ ।
स्थानीय तहले त्यो सूची प्रमाणित गरेर पठाएपछि आयोगले नापी कार्यालय सँगको समन्वयमा जग्गा नाप गरी प्रमाणीकरणको काम गर्ने अध्यक्ष नहर्कीले जानकारी दिए ।
प्रतिक्रिया 4