
२४ जेठ, जनकपुरधाम । मधेश प्रदेशका सांसदले विराटनगरमा तीन महिनाअघि सप्तरीका चिकित्सक डा. विजय यादव मृत फेला परेको विषय छानबिन गर्न माग गरेका छन् ।
प्रदेश सभाको मंगलबार बसेको बैठकमा सप्तरीका सांसदले विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा कार्यरत डा. यादवको हत्या भएको र प्रहरीले आत्महत्यामा परिणत गर्न खोजेको आरोप लगाए ।
सप्तरीको बिष्णुपुर गाउँपालिका वडा नम्बर १ निवासी २७ बर्षीय यादव १९ चैत २०७८ को बिहान विराटनगर ४ स्थित आफ्नो कोठाको अगाडि मृत फेला परेका थिए ।
नेकपा एमालेका संसदीय दलका नेता सत्यनारायण मण्डलले मेडिकल माफिया मिलेर डा. यादवको हत्या गरेको दावी गर्दै पीडित परिवारलाई न्याय दिलाउन माग गरे । ‘डा. यादव एक गरीबका होनहार छोरा थिए, जसलाई मेडिकल माफियाले हत्या गरेका छन्’ उनले भने, ‘यो हत्यालाई आत्महत्यामा परिणत गर्न खोजिदैछ । त्यसैले मधेश सरकारले यसतर्फ गम्भीर बन्नु जरुरी छ ।’
नेपाली कांग्रेसका सांसद मो. समीमले मृतकका बुवा यदुनन्दन यादवले विदेशमा श्रम गरेर आफ्ना एक्ला छोरा विजयलाई चिकित्सक पढाएको बताउँदै उनको हत्याले परिवारमाथि बज्रपात भएको बताए ।
‘यो हत्याको अनुसन्धान गर्न सकिएको छैन, जसले पीडित परिवार अझ पीडित बन्दै गएका छन्’ उनले भने, ‘दोषीलाई पक्राउ गरी कारवाही गराउनेतर्फ प्रदेश सरकारले ध्यान दिनु जरुरी छ ।’
प्रतिक्रिया 4