
२४ जेठ, गोरखा । गण्डकी गाउँपालिकाको मंगलबारको गाउँसभा नेपाली कांग्रेस र नेकपा एमालेका निर्वाचित जनप्रतिनिधिले बहिष्कार गरेका छन् ।
गाउँपालिकाको केन्द्र वडा नम्वर ६ आइडाडामा राख्ने प्रस्ताव पेश गर्ने तयारी भएको जानकारी पाएपछि वैठक बहिष्कार गरेको गाउँपालिका उपाध्यक्ष ललिता अधिकारीले बताइन् । उनी नेपाली कांग्रेसबाट निर्वाचित भएकी हुन् ।
‘यही जेठ १६ गते गाउँ कार्यपालिकाको बैठकमा गाउँपालिकाको केन्द्र आइडाडा सार्ने भनेर प्रस्ताव लाने निर्णय गरे,’ उनले भनिन्, ‘हामीले वडा नम्वर ५ को लाकुरी भन्ज्याङ वा वडा नम्वर ६ को दलभन्ज्याङमा राखौं भन्दापनि माओवादीका जनप्रतिनिधिहरु मान्नुभएन ।’ मंगलबारको गाउँसभामा केन्द्रबारे जबर्जस्ती निर्णय गराउने मनसाय बुझेपछि बैठकमा सहभागी नभएको उनले बताइन् ।
गाउँपालिका अध्यक्ष दीपक तिमल्सिनाले गाउँपालिका केन्द्रको बिषयमा असहमति जनाउदै कांग्रेस र एमालेका जनप्रतिनिधि बैठकमा सहभागी नभएको स्वीकार गरे ।
‘वडा नम्बर ६ को वनटारमा पालिकाको केन्द्र हुनुपर्छ भन्ने हाम्रो माओवादी पार्टीको भनाइ हो’, उनले भने, ‘हामी आइडाँडासम्म सहमत हुन सक्थ्यौं तर कांग्रेसले भूम्लिचोक नै हुनुपर्छ भन्ने अडान लिइरहेको छ ।’ आवश्यक छलफल र समन्वय गरेर केन्द्रको विवाद टुंग्याउने नभए सेवा केन्द्रहरु स्थापना गरेर काम अघि बढाउने अध्यक्ष तिमल्सिनाले ताए ।
भूम्लिचोकको ओखलडाडामा निर्माण हुने गरी अघिल्लो कार्यकालका जनप्रतिनिधिले गाउँपालिकाको प्रशासकीय भवनको ठेक्काको सूचना जारी गरेका थिए । नवनिर्वाचित अध्यक्ष तिमल्सिनाले आफ्नो पहिलो निर्णयबाटै त्यसलाई रद्ध गरिदिए ।
गाउँपालिकाको कार्यपालिकामा माओवादी केन्द्रको बहुमत छ । ४४ जनाको गाउँसभामा माओवादी केन्द्रका २९, कांग्रेसका १३ र एमालेका दुई सदस्य छन् ।
प्रतिक्रिया 4