
२५ जेठ, काठमाडौं । नेकपा एमालेले चार वटा मन्त्रालयको खर्च रकमलाई कटौती गरी एक रुपैयाँ कायम गर्न प्रस्ताव गर्ने भएको छ ।
आजको प्रतिनिधि सभा बैठकमा एमाले सांसदहरुले चार वटा मन्त्रालयको खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्न लागेका हुन् ।
एमाले सांसद पद्मा कुमारी अर्यालले कृषि, विमला विकले उद्योग, लालबाबु पडिण्तले सामान्य प्रशासन र गोकुल बास्कोटाले सञ्चार मन्त्रालयको बजेट कटौती गरी एक रुपैयाँ कायम गर्न प्रस्ताव प्रस्तुत गर्ने छन् ।
संघीय संसदमा जेठ १५ गते प्रस्तुत भएको विनियोजन विधेयक (बजेट) २०७९/८० को मन्त्रालयगत छलफल भइरहेको छ । बुधबारको बैठकमा कृषि, उद्योग, सामान्य प्रशासन र सञ्चार मन्त्रालयका बजेटमा छलफल हुने कार्यसूची छ । सोही क्रममा मन्त्रालयका बजेट कटौतीको प्रस्ताव पनि पेश हुन लागेको हो ।
संसद सचिवालयले सार्वजनिक गरेको आजको कार्यसूचीमा नेमकिपाका सांसद प्रेम सुवाल, राष्ट्रिय जनमोर्चाकी दूर्गा पौडेल र एमाले सांसद पद्मा कुमारी अर्यालले पनि कृषि मन्त्रालयको खर्च कटौतीको प्रस्ताव पेश गर्ने कार्यसूची छ । उनीहरुको प्रस्तावमा भने कटौती गरेर कति कायम गर्ने भनेर रकम तोकिएको छैन ।
प्रतिक्रिया 4