+
+

स्यानिटरी प्याड उत्पादकको गुनासो : हाम्रा उद्योग बन्द हुने भए

तयारी वस्तुमा भन्सार घटाएर कच्चा पदार्थमा बढाएको गुनासो

हरि अधिकारी हरि अधिकारी
२०७९ जेठ २५ गते १५:४८

२५ जेठ, विराटनगर । सरकारले स्यानिटरी प्याडको आयातमा ९० प्रतिशत भन्सार महसुल घटाउँदा कच्चा पदार्थ आयातमा भने उच्च भन्सार महसुल तोकेको भन्दै उत्पादकहरुले असन्तुष्टि जनाएका छन् ।

आगामी आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यमा स्यानिटरी प्याडमा लाग्दै आएको १५ प्रतिशत भन्सार महसुलमा ९० प्रतिशत कटौती गरी १.५ प्रतिशत कायम गरिएको छ । तर विदेशबाट कच्चा पदार्थ आयात गरी नेपालमै सेनिटरी प्याड उत्पादन गर्ने उद्योगीले भने विभिन्न वस्तुमा भन्सार महसुल सरदरमा साढे ७ प्रतिशत तिर्नुपर्ने भएकाले नेपालमा उत्पादन गर्नै नसक्ने स्थिति आएको बताएका छन् ।

तयारी सेनिटरी प्याडमा भन्दा कच्चा पदार्थमा बढी भन्सार महसुल तोक्दा नेपालमा उत्पादित सेनिटरी प्याड महंगो पर्ने उनीहरुको भनाइ छ ।

‘स्वदेशमा उत्पादन गर्ने भन्दा आयात गरेर बिक्री गर्दा सस्तो पर्छ’, उद्योग संगठन मोरङका अध्यक्ष सुयस प्याकुरेलले भने, ‘सरकारको नीतिले उद्योगको भविष्य अन्योलमा परेको छ ।’

बुधबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै उद्योगीले स्वदेशी उद्योग बन्द गराउने सरकारको यो नीति परिमार्जन हुनुपर्ने माग गरे । सेनिटरी प्याड उत्पादन गर्न ७ प्रकारका कच्चा पदार्थ भारत र तेस्रो मुलुकबाट आयात गर्नुपर्ने उद्योगीहरु बताउँछन् ।

सेनिटरी प्याड उत्पादन गर्ने उद्योगहरुले प्याकिङ मटेरियलमा ३० प्रतिशत भन्सार महसुल र ५ प्रतिशत अन्तशुल्क तिर्दै आएका थिए । सबै कच्चा पदार्थमा तिर्नुपर्ने सरदर भन्सार दर ७.५ प्रतिशत रहेको उद्योगीको दाबी छ ।

उद्योगीहरुका अनुसार नेपालमा ३५ वटा उद्योगले सेनिटरी प्याड उत्पादन गर्दै आएका छन् र त्यहाँ करिब ६ हजार जनाले रोजगारी पाएका छन् । बजेटको व्यवस्थाका कारण ती उद्योग र कर्मचारीको रोजगारी संकटमा परेको अध्यक्ष प्याकुरेलले बताए ।

विराटनगरस्थित सेनिटरी प्याड उत्पादक जस्मिन हाइजेनिक र हेल्थ एण्ड हाइजिनले आफ्नो उत्पादनलाई विदेशमा पनि निर्यात गरिरहेको थियो । नयाँ नीतिले स्वदेशी उद्योग संकटमा पर्ने मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले बताए ।

फलाम उद्योगपनि संकटमा

उद्योगीहरुले बजेटमा भएको व्यवस्थाले फलाम उद्योगहरु पनि संकटमा परेको गुनासो गरे । भारतले फलामजन्य सामग्रीको निर्यातमा १५ प्रतिशत अन्तशुल्क लगाएपछि समस्या परेका उद्योगका लागि आर्थिक वर्ष २०७९–०८० को बजेटले झन् निराश बनाएको उद्योगीको गुनासो छ ।

यसअघि पाँच प्रतिशत भन्सार महसुलमा आयात गर्दै आएको कच्चा पदार्थलाई सरकारले १० प्रतिशत बनाएको उद्योगीको गुनासो छ ।

निर्यातका लागि भारतमा बढेको शुल्क र नेपाल सरकारले पाँच प्रतिशत भन्सार महशुल वृद्धि गरेपछि उद्योग बन्द हुने अवस्था आएको मोरङ व्यापार संघका पूर्व अध्यक्ष पवनकुमार सारडाले बताए । एउटा उद्योगलाई फाइदा पुग्ने गरी सरकारले बनाएको नीतिले एक सय भन्दा बढी उद्योग प्रभावित हुने उनको गुनासो छ ।

बनस्पती घ्यू आयातलाई सरकारले प्रोत्साहन दिँदा स्वदेशी उद्योगहरु धरासायी बनेको उद्योगीको आरोप छ । यसअघि बनस्पति घ्यूको कच्चा पदार्थको आयातमा १० प्रतिशत र प्रशोधित तेलमा १५ प्रतिशत भन्सार महशुल तोकिएको थियो । तर सरकारले आर्थिक वर्ष २०७९–८० मा प्रशोधित तेलको भन्सार महशुल पाँच प्रतिशतमा झारेपछि स्वदेशी उद्योग धारासायी भएको व्यावसायीले बताए ।

नीतिविरुद्ध आन्दोलन सुरु

बजेटमा भएको व्यवस्थाले उद्योगहरु संकटमा पुगेको बताउँदै उद्योगीहरुले आन्दोलन सुरु गरेका छन् । बुधबार पत्रकार सम्मेलन गरी सरकारलाई ज्ञापन पत्र बुझाएका व्यापारिक संस्था मोरङ व्यापार संघ, उद्योग संगठन र नेपाल उद्योग परिसंघ प्रदेश १ ले आन्दोलन सुरु गरेका छन् ।

उद्योगहरुले नीति परिवर्तनको माग गर्दै मजदुरको सहयोगमा बिहीबार एक घण्टा कोसी राजमार्ग अवरोध गर्ने चेतावनी दिएका छन् ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?