
२५ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले कृषि मन्त्रालय र जिम्मेवारी प्राप्त व्यक्तिले अकर्मण्यताले समयमा रासायनिक मल आउन नसकेको बताएका छन् ।
विनियोजन विधेयकको छलफलका क्रममा प्रतिनिधि सभाको बैठकमा बोल्ने क्रममा सांसद थापाले भने, ‘जिम्मेवार मन्त्रालय र जिम्मेवारी लिएका मानिसहरुले सही काम नगरिदिँदा समस्या आयो । अब के हुन्छ? वक्तव्य आउँछ । मल आउदैन । अब रोएका किसानको फोटो आउँछ ।’
कांग्रेसका महामन्त्री समेत रहेका थापाले प्रधानमन्त्री तथा पार्टी सभापतिलाई भेटेर किसानलाई मलका कारण पर्ने समस्या बारे समयमै जानकारी गराएको बताए । ‘जेठ असारमा मल यहि तरिकाले आउन नसक्ने पार्टीको बैठकमा साथै बालुवाटारमा प्रधानमन्त्रीलाई भेटेर पनि भनेको हो ।’ थापाले भने,‘प्रधानमन्त्रीले त्यहीबाट मन्त्रीलाई फोन गरेर भन्नुभएको पनि हो ।’
अनुकुल मनसुन हुँदा समेत सामूहिक असफलता भएको उनले उल्लेख गरे । स्वदेशमा मल नपाएर सीमाना पारी गएर ल्याउनेलाई लाठीले ठोकेर र खोसेर सरकारले बहादुरी देखाउने भन्दै विरोध गरे । थापाले छिमेकी राष्ट्रमा प्रति हेक्टर रासायनिक मलको प्रयोगको तथ्यांक प्रस्तुत गरेका थिए ।
चीनमा करिब प्रति हेक्टर ३९४ केजी भारतमा १२५ प्रति हेक्टर नेपालमा प्रति हेक्टर ८७ केजी मल प्रयोग भइरहेको छ ।’ उनले भने,‘ प्राविधिक रुपमा १२ लाख ९७ हजार मेट्रिक टन नेपालका लागि आवश्यक छ । अत्यावश्यक पाँच लाख २० हजार हो ।’
२ देखि ३ लाख रासायनिक मल जेठ र असार महिनामा मात्रै आवश्यक पर्ने तथ्यांक सुनाउँदै थापाले कृषि मन्त्रालयले असारको अन्त्यसम्म ल्याउने प्रतिवद्धता जनाएको मल नआउने दाबी गरे ।
‘१ लाख ९२ हजार मेट्रिक टन मल असारको मसान्तसम्म आउने कृषि मन्त्रालयको जानकारी गराएको छ । मन्त्रालयले ल्याउने भनिएको मल आउनै सक्दैन ।’ थापाले भने,‘ दिनको २ हजार मेट्रिक टन भन्दा बढी अहिले आउन सक्दैन । सरकार र मन्त्री फेरिएपनि मलको कथा यस्तै रहिरह्यो ।’
प्रतिक्रिया 4